सुनसरी-मोरङमा पाँच प्रतिशत धानबालीमा क्षति

विराटनगर । सुनसरी र मोरङ्ग जिल्लाको ठूलो क्षेत्रमा गरिएको अनुगमनबाट कृषि क्षेत्रको ५ प्रतिशत धानमा क्षति पुगेको भूमि व्यवस्था‚ कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ । धान बढी उत्पादन हुने क्षेत्र झापा-मोरङको धेरै ठाउँको अनुगमनको क्रममा केही क्षेत्र बाहेक धेरै जसो ठाँउहरू सुधार हुने अवस्थामा रहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता राजेन्द्र उप्रेतीले ८० प्रतिशतभन्दा धेरै क्षेत्रफलमा धान दूध पसेर पाक्ने अवस्थामा रहेको तथा बासमतीलगायतका पछि पाक्ने जातहरू नपसाएको बताए । अनुगमनका क्रममा ५ प्रतिशतभन्दा थोरै क्षेत्रफलमा बाली पाकेर कटानी भएको तथा त्यसको खोला छेउछाउको सानो भागको धान पानीले बगाएको पाइएको उप्रेतीले बताए । अरु धेरै काटेको बाली पनि केहि मेहनत गर्दा बचाउन सकिने उप्रेतीको भनाइ छ ।

‘लडेको बाली किसानहरूले बाँधेर जोगाउनु भएको छ,’ उनले भने, ‘धेरै ठाँउहरूमा यो उपाय उपयोगी हुनसक्छ ।’ पानीको सतह तीव्र रुपमा कम भइरहेकाले यो बेला छिमेकीहरू मिलेर पनि धेरै कुरा बचाउन सकिने उनको भनाइ छ ।
धानविज्ञ उप्रेतीले वर्षात्को कारण भएको वास्तविक क्षति हल्ला फिँजाइए भन्दा र विभिन्न जिल्लाबाट आएको अनुमानभन्दा धेरै कम रहेको बताएका छन् । ‘हिजो रातिको पानीले डुबान भएका धेरैजसो बालीहरू आज पानीमाथि आइसकेका छन्,’ उप्रेतीले भने, ‘ती प्रायः जोगिन्छन्, पाकिसकेर लडेका बालीहरू एक/दुई दिन कुरेर मौसमको अनुकूलता हेरी कटानी थाल्न सकिन्छ ।’

परम्परागतरुपमा गर्दै आएका तरिकाहरू‚ जस्तैः दुई/तीनवटा गाँजहरू एक ठाँउमा ल्याएर हल्का बाँधिदिने उपाय लडेको बालीको क्षति कम गर्न अति उपयोगी हुने धान विज्ञ उप्रेती बताउँछन् । उनले आफ्नो खेतमा पुगेर आलीहरू खोल्न, पानीको निकास गर्न र काटिसकेको डुबेका बालीहरू ओतलाग्ने ठाँउमा ओसारेर एक अर्काको सहयोगी बन्न पनि आग्रह गरेका छन् ।









