बाढी पहिरोपीडितलाई राहत उपलब्ध गराउन सरकारसँग प्रचण्डको माग

काठमाडौँ । सत्तासाझेदारी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बाढी पहिरोपीडितलाई राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गरेका छन् । ‘बाढी र पहिरोबाट सबैभन्दा बढी मारमा परेका किसानहरूलाई कृषि सहायता कोष खडा गरी राहत र क्षतिपुर्ति दिलाऔं,’ प्रचण्डले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘म सरकारसँग जोडदार माग गर्दछु, उनीहरूसँगै सबै पीडितहरूलाई राहत तथा क्षतिपूर्ति उपलब्ध गराऔँ ।’
अविरल वर्षापछि आएको बाढी तथा पहिरोमा परी ३० भन्दा बढीले ज्यान गुमाएको र केही बेपत्ता रहेकोप्रति दुःख व्यक्त गर्दै प्रचण्डले बेपत्ताहरूको उद्धारमा सरकारसँगै सबैले सहयोग गर्नुपर्ने बताएका छन् । ‘बाढी पहिरोमा परी बेपत्ता हुनभएकाहरूको यथाशीघ्र खोजीका लागि स्थानीय, प्रदेश र संघका सुरक्षालगायत सबै सरकारी निकायहरू, स्थानीय स्वयम्सेवी, विभिन्न संघसंस्था, व्यक्ति, युवा र हाम्रो पार्टीका नेता तथा कार्यकर्ताहरूमा विशेष आग्रह गर्दछु,’ प्रचण्डले भनेका छन् ।
यस्तै विस्थापित परिवारहरूलाई खानपानको व्यवस्थासमेत गर्न प्रचण्डले माग गरेका छन् । घाइतेहरूको निःशुल्क स्वास्थ्योपचार गर्नुपर्नेसमेत प्रचण्डको माग छ ।








