जलमग्न मोरङ र सुनसरी (तस्बिरहरू)

विराटनगर । निरन्तरको वर्षाको कारण मोरङ सुनसरी औद्योगिक करिडोरमा डुबानमा परेको छ । मोरङको बुढिगंगा र सुनसरीको दुहबी तथा इटहरी क्षेत्र पूर्ण रूपमा डुबानमा परेको हो ।

विगत २ दिनदेखिको निरन्तर वर्षाको कारण औद्योगिक क्षेत्र डुबानमा परेको छ भने बस्ती समेत डुबेको छ । कोशी राजमार्ग आसपासको क्षेत्र बढी प्रभावित भएको छ । बुढिगंगा गाउँपालिकामा रहेका हुलास वायर, नेपाल जुट मिल्स, हाईलाईफ तथा म्याजिक उद्योग, आरती स्ट्रीप्स तथा पेट्रोल पम्पहरू पनि डुबानमा परेका छन् ।

साना ठूला गरी करिब ५ सय उद्योग तथा व्यवसाय डुबानमा परेको प्रारम्भिक अनुमान उद्योग सङ्गठनको छ । विराटनगर महानगरपालिकाको कोशी राजमार्गको पश्चिमी क्षेत्रहरू जलमग्न भएर घरहरू डुबानमा परेको छ । विमानस्थलमा करिब ३ फिटसम्म पानी जमेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय मोरङले विवरण सङ्कलनको काम भइरहेको जनाएको छ। मोरङका अधिकांश क्षेत्र डुबानमा भएको, घरहरू भत्किएको तथा पशुधन नष्ट भएको जानकारीमा आएपनि मानवीय क्षतिको विवरण आउन नसकेको मोरङका सहायक प्रमुख जिल्ला अधिकारी तथा प्रवक्ता सरदकुमार पोखरेलले जानकारी दिए ।

‘बिहान ८ बजे सार्वजनिक गर्न खोजेका थियौँ,’ उनले भने, ‘सम्भव नभएको कारण दिउँसो २ बजेसम्ममा प्रारम्भिक विवरण लिएर सार्वजनिक गर्नेछौँ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *