केरलामा भीषण वर्षा, २७ जनाको मृत्यु (भिडिओ)

काठमाडौँ । भारतको दक्षिणी राज्य केरलामा लगातार वर्षा र बाढीका कारण कम्तीमा २७ जनाको मृत्यु भएको छ । यस्तै ८ जना बेपत्ता भएको भारतीय सञ्चारमाध्यम दैनिक भाष्कारले जनाएको छ । मृत्यु हुनेमा पाँच जना बालबालिका रहेका छन् । धेरै मानिस हराइरहेकाले मृत्यु हुनेको संख्या बढ्न सक्ने जनाइएको छ ।
बाढीले कोटायाम जिल्लाका केही घर बगाएको छ भने धेरै मानिस फसेको समाचारमा जनाइएको छ । बाढी आएपछि सार्वजनिक भएको भिडियोमा पानीमा डुबेको बसबाट यात्रुको उद्धार भइरहेको देखिएको छ । बाढीका कारण घरहरूसमेत बगेका छन् । बाढीको कारण कोटायम र इडुक्की जिल्ला सबैभन्दा धेरै प्रभावित भएका छन् ।
भारतको सेनाको हेलिकोप्टरबाट अहिले फसेका मानिसहरूको उद्धारकार्य चलिरहेको सम्बन्धित अधिकारीले बताएका छन् । केरलाका मुख्यमन्त्री पियारायी विजयनले आइतबार (हिजो) अहिलेसम्म एक हजारभन्दा धेरै मानिसको उद्धार गरिएको र एक सयभन्दा धेरै क्याम्प स्थापना गरिएको बताएका छन् ।
सन् २०१८ मा केरलामै आएको बाढीको कारण ४ सयभन्दा धेरै मानिसहरूको मृत्यु भएको थियो भने १० लाखभन्दा धेरै मानिस विस्थापित भएका थिए ।
भिडिओ हेर्न यहाँ क्लिक गर्नुस् ।








