जम्मु-कश्मिरमा भारतीय सेना र आतंकवादीबीच भिडन्त, ९ सैनिकसहित २२ मारिए

काठमाडौ । भारतको केन्द्र शासित प्रदेश जम्मु-कश्मिरमा गत सोमबारदेखि सेना र आतंकवादीबीच मुठभेड जारी छ । दोहोरो मुठभेडमा अहिलेसम्म ९ भारतीय सेनासहित २२ जना मारिएका छन् ।
बीबीसी हिन्दीकाअनुसार भारतीय सेनाले आतंकवादी समूहका १३ जना जनालाई मारेको दाबी गरेको छ । सेनातर्फ पहिलो दिनमै एक जुनियर अफिसरसहित पाँच जना मारिएका थिए । सेनाको अभियानको दोस्रो दिनपछि फेरि दोहोरो गोली हानाहान भयो र थप दुई जवान मारिए । यसबीच कश्मिरको कुलमागमा आइतबार दुई जना गैरकश्मिरी नागरिकको गोली हानेर हत्या भएको छ ।
भारतीय सेनाले गत सोमबार सरनकोटको एक गाउँबाट आतंकवादी समूहविरुद्ध अपरेसन शुरु गरेको थियो । मारिनेहरुमा उत्तर प्रदेशको सहरानपुरका सगीर अहमद र बिहारको बाँका क्षेत्रका अरविन्दकुमार साह छन् । अरविन्द कुमार श्रीनगरको इदगाहा भन्ने ठाउँमा पानी पुरी बेच्ने गर्दथे । उनी मारिएको एक घण्टापछि कश्मिरको पुलवामा सगीर अहमद मारिए । उनी काठको मिस्त्री थिए ।
आतंकवादी समूह र सेनाबीच मुठभेड जारी रहेको बेला जम्मु-कश्मिरमा देशविरोधी गतिविधिमा सामेल भएको भन्दै सरकारी कर्मचारीलाई बर्खास्त गर्ने अभियान पनि चलिरहेको छ । पछिल्लो पटक जम्मु-कश्मिर प्रशासनले अलगाववादी नेता भनेर चिनिने सइद अली शाह गिलानीको नाती अनिल उल इस्लाम र एक जना शिक्षकलाई जागिरबाट बर्खास्त गरेको छ ।








