‘प्रेमीसँग मिलेर श्रीमान्‌काे हत्या गर्ने’ महिलासहित दुई जना सार्वजनिक

धनगढी । कैलालीमा प्रेमीसँग मिलेर श्रीमान्‌काे हत्या गरेको आरोपमा पक्राउ परेकी महिलासहित दुई जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।धनगढी उपमहानगरपालिका वडा नम्बर ७ बेली २५ वर्षीय रमेश चौधरीको हत्या आरोपमा आरोपमा उनकी श्रीमती २७ वर्षीया अमृता चौधरी र २९ वर्षीय बिष्णु चौधरीलाई प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको हो ।

मृतककी श्रीमती अमृताले प्रेमीसँग मिलेर रमेशको हत्या गरेको पाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (एसपी) विश्व अधिकारीले जानकारी दिए। अमृता र विष्णुबीच केही वर्षदेखि प्रेम सम्बन्ध रहेको पाइएको र श्रीमानले शुक्रवार राति घर नजिकै आपत्तिजनक अवस्थामा भेटेपछि दुवै मिलेर उनको हत्या गरिएको एसपी अधिकारीले बताए ।

‘रमेशले आपत्तिजनक अवस्थामा भेटेपछि विष्णुमाथि कुटपिट गरेको देखिन्छ,’ एसपी अधिकारीले भने, ‘सोही क्रममा विष्णुले प्रतिकार गर्दै अमृतासँगै मिलेर खेतमा घाँटी थिचेर रमेशको हत्या गरेको पाइएको छ ।’ सोही राति रमेशको शव नजिकैको खुटिया नदी चौरमा फालेर दुवै जना घरतर्फ लागेको अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ ।

मृतक चौधरीका तीन वर्षीया छोरा छन्। यसअघि प्रहरीले हत्यामा संलग्न भएको आशङ्कामा अन्य दुई जनालाई समेत पक्राउ गरेको थियो। तर उनीहरूको संलग्नता नदेखिएपछि छाडिएको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धानको लागि एसपी अधिकारी र सुदूरपश्चिम प्रदेश प्रहरी अनुसन्धान समूहसहितको विशेष अनुसन्धान टोली घटनास्थलमा खटिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *