बेलायती सांसदको छुरी हानी हत्या

काठमाडाैँ । बेलायतका सांसद सर डेभिड एमेसको शुक्रवार छुरी हानी हत्या गरिएको छ । घटनालाई प्रहरीले आतङ्ककारी हमला भनेको छ ।

कन्जरभेटिभ सांसद सर डेभिडलाई एसेक्सस्थित आफ्नै निर्वाचन क्षेत्रको चर्चमा मतदाताहरूसँगको भेटघाट कार्यक्रममा छुरी हानेको आरोपमा प्रहरीले एक २५ वर्षीय व्यक्तिलाई गिरफ्तार गरेको छ । प्रहरीले चक्कु भेटेको र सो हत्याका लागि थप कसैलाई गिरफ्तार गर्न खोजी नगरेको बताएको छ । तर प्रहरीले लन्डनका दुई स्थानमा खोजतलास गरिरहेको बताएको छ ।

घटनाको अनुसन्धान गरिरहेको प्रतिआतङ्कवाद टोलीले हत्याको पछाडि ‘इस्लामिक उग्रवाद’ कारण रहेको हुनसक्ने बताएको छ । प्रधानमन्त्री बोरिस जोनसनले राजनीतिमा रहेका दयालुमध्ये एक व्यक्ति गुमाउनु परेकोमा शोक व्यक्त गरेका छन् । गृहमन्त्री प्रीति पटेलले प्रहरीलाई सबै सांसदहरूको सुरक्षा व्यवस्थालाई तुरुन्तै पुनर्विचार गर्न निर्देशन दिएकी छन् ।

उनी ६९ वर्षीय सन् १९८३ देखि सांसद रहेका थिए र उनका श्रीमती र पाँच सन्तान रहेका छन् । गत पाँच वर्षमा हत्या भएका उनी ब्रिटेनका दोस्रो सांसद हुन्। सन् २०१६ मा लेबर सांसद जो कक्सको हत्या भएको थियो । सरकारी स्रोतले गिरफ्तार गरिएको व्यक्ति सोमालियासँग नाता भएका ब्रिटिश नागरिक भएको बताएको छ ।

हत्याको समयमा सर डेभिड आफ्नो निर्वाचन क्षेत्रमा मतदाताहरूसँग भेटघाट कार्यक्रममा रहेका थिए । एसेक्स प्रहरीका अनुसार दिउँसो १२ बजेर ५ मिनेटमा प्रहरीले घटनाको जानकारी पाएको थियो र त्यसको केही क्षणमा प्रहरी अधिकारीले सांसदलाई एकभन्दा बढी चोट लागेको अवस्थामा भेटेको थियो ।

प्रहरी र स्वास्थ्यकर्मीको अथक प्रयासका बाबजुद उनको घटनास्थलमा मृत्यु भएको थियो । प्रहरीले घटनाका प्रत्यक्षदर्शी वा कुनै हिसाबले क्यामेरामा घटना खिचिएको भए सम्पर्क राख्न सार्वजनिक अपिल गरेको छ । -बीबीसी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *