कोरोना भाइरसको उत्पत्ति स्थान पत्ता लगाउन कार्यदल

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले कोभिड-१९ को उत्पत्ति पत्ता लगाउन कार्यदल गठन गरेको छ । साइन्टिफिक एड्भाइजरी ग्रुप अफ द ओरिजिन्स अफ नोभल पाथोजेन्स (सागो)सँग संयुक्त रुपमा कार्यदल गठन गरिएको हो ।

नयाँ कार्यदलमा २६ जना विज्ञहरु मनोनीत गरिएको छ । डब्लूएचओले नयाँ कार्यदल कोभिड-१९ को उत्पत्ति पत्ता लगाउने अन्तिम अवसर हुनसक्ने जनाएको छ । चीनको वुहान सहरमा डेढ वर्षभन्दा बढी समयअघि पत्ता लागेको कोरोनाभाइरस पहिलो पटक कहाँ उत्पत्ति भयो भन्ने कुरा अझै अस्पष्ट छ ।

डब्ल्यूएचओको टोलीले कोरोनाभाइरस वुहानमा जनावरबाट मानवमा सरेको अथवा दुर्घटनावश प्रयोगशालाबाट ‘लीक’ भयो भन्नेबारे अनुसन्धान गर्नेछ । चीनले प्रयोगशालाको कुरालाई कडा शब्दमा खण्डन गर्दै आएको छ । गत फेब्रुअरीमा डब्ल्यूएचओकै एउटा अनुसन्धान टोली चीन पुगेको थियो ।

सो टोलीले कोरोनाभाइरस सम्भवतः चमेरोबाट उत्पन्न भएको निचोड निकाले पनि थप काम गर्नुपर्ने खाँचो औँल्याएको थियो । तर पछि डब्ल्यूएचओका महानिर्देशक ट्रेडोस एड्हानोम गेहब्रयससले तथ्याङ्कको अभाव र चीन पारदर्शी नहुँदा अनुसन्धान प्रभावित भएको बताए । प्रस्तावित नयाँ अध्ययन टोलीमा यसअघि चीन गएको अघिल्लो टोलीमा संलग्न छजना विज्ञ पनि समावेश छन् ।

कोरोनाभाइरसका साथसाथै नयाँ टोलीले अतिजोखिमयुक्त अरू प्याथोजिन्सको उत्पत्तिबारे पनि अध्ययन गर्नेछ । ‘भविष्यमा महामारी फैलिनबाट रोक्नका लागि नयाँ प्याथोजिन्सहरू कहाँबाट आउँछन् भन्ने कुरा थाहा पाउनु महत्त्वपूर्ण हुनेछ,’ महानिर्देशक टेड्रोसले भने ।

आपत्‌कालीन मामिलासम्बन्धी डब्ल्यूएचओका निर्देशक माइकल रायनले नयाँ अनुसन्धान टोलीको काम कोरोनाभाइरसको उत्पत्ति स्थानबारे बुझ्ने अन्तिम मौका हुन सक्ने बताएका छन् । तर जिनिभास्थित राष्ट्रसङ्घका लागि चिनियाँ राजदूत चेन सुले अनुसन्धान टोलीको कामलाई “राजनीतिकरण गर्न नहुने” प्रतिक्रिया दिएका छन् । ‘यो अरू ठाउँमा पनि टोलीहरू पठाउनुपर्ने बेला हो,’ उनले थपे । -बीबीसी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *