बैंक लुट्ने बन्दुकधारी सार्वजनिक, २१ लाख ७० हजार लुटिएको दाबी

विराटनगर । बैंक लुटपाटमा संलग्न तीन जनालाई पक्राउ गरी सार्वजनिक गरिएको छ । असोज २५ गते दिउँसो पौने चार बजेको समयमा मोरङको धनपालथान गाउँपालिका- ४ कर्सियामा रहेको सिटिजन बैंकमा लुटपाट गर्ने गिरोहको नाइकेसहित तीनजना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

घटना २६ गतेको भएपनि प्रहरीले बुधबारमात्र उनीहरूलाई सार्वजनिक गरेको हो । प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार बैंकबाट २१ लाख ७० हजार रुपैयाँ लुटपाट भएको छ । पत्रकार सम्मेलन गरी घटनाको बारेमा जानकारी दिँदै जिल्ला प्रहरी कार्यालय मोरङका एसपी जनार्दन जिसीले घटनामा भारतीय गिरोहको संलग्नता रहेको बताए ।

आपराधिक समूहले कर्सियाको बैंक लुट्ने योजना १० दिन पहिलादेखि बनाएको भन्ने अनुसन्धानबाट खुल्न आएको उनले बताए । प्रारम्भिक रुपमा लुटेरा समूहले २१ लाख ७० हजार रुपैयाँ लुटपाट भएको जानकारीमा आएको र लिखित रुपमा बैंकबाट जानकारी आउन बाँकी रहेको जिसीले बताए ।

फिल्मी शैलीमा लुटपाट
सोमबार दिउँसोको समय थियो । दसैँको बेला भएकाले बैंक दिनभर जस्तै व्यस्त थियो । भिडभाडको बिच भएको कारोबारका कारण कर्मचारीहरू पनि थकित थिए । झण्डै ४ बज्न लागेको थियो । त्यो बेलासम्म बैंक सुनसानजस्तै भइसकेको थियो ।

बैंकमा सुरक्षागार्ड र कर्मचारीहरूमात्र थिए । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार, कर्सियामा रहेको सिटिजन्स बैंकमा ७ जनाको अपरिचित समूह एक्कासी बैंकभित्र पस्न खोज्यो । बैंकमा छिरेका ७ जनामध्ये २ जनाले गार्डसँग भएको खुकुरी खोसी पेस्तोल ताक्दै नियन्त्रणमा लिन खोजे ।

बैंकको सुरक्षामा खटिएका गार्डले प्रतिकार गर्दा पछाडिबाट अर्को हतियारधारी व्यक्तिले गोली प्रहार गरेको प्रहरीले जनाएको छ । हतियारधारी समूहले हानेको गोली सुरक्षागार्डको दाहिने पातामा लागेको थियो । बैंकमा गोली चलेपछि होहल्ला मच्चियो । कर्मचारीहरू भागदौड गर्न थाले । त्यही बेला प्रहरीलाई घटनाको बारेमा खबर पुगिसकेको थियो ।

केहीबेरमा आएको प्रहरी चौकी कर्सियाको टोलीले घाइते भएका गार्ड हमाललाई उपचारका लागि न्यूरो अस्पताल विराटनगर पठाएको थियो ।

‘तत्काल त्यहाँबाट कति लुटपाट भएको हो भन्ने यकीन प्रहरीसँग थिएन‚ तर प्रहरी लुटेराको खोजीमा लागेको थियो,’ जिल्ला प्रहरी कार्यालय मोरङका एसपी जिसीले भने, ‘अनुसन्धान गर्दै जाँदा अहिले तीनजनालाई पक्राउ गर्न सफल भएका छौँ ।’ घटना भएको करिब १५ मिनेटपछि धनपालथान गाउँपालिका-२ खयरबना चोक नजिकबाट भाग्दै गरेको अवस्थामा तीनजनालाई पक्राउ गरेको जिसीले बताए ।

पक्राउ पर्नेमा घटनाका मुख्य योजनाकार विराटनगर महानगरपालिका-८ बस्ने ३२ वर्षीय श्याम मुखिया, भारतको अररिया गोराहा- ४ बस्ने ३० वर्षीय विजय सहनी र भारत अररिया सेखपुरा- ५ बस्ने २८ वर्षीय सुनिल यादव रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *