मुगुमा बस दुर्घटना : दुई हेलिकोप्टरबाट घाइतेलाई नेपालगञ्ज ल्याइँदै

काठमाडौँ । मुगुको छायाँनाथ रारा नगरपालिका-७ पिना तपनेखोलामा यात्रुवाहक बस दुर्घटनाका घाइतेको उद्धारका लागि दुईवटा हेलिकोप्टर घटनास्थलमा पठाइएको गृहमन्त्रालयले जनाएको छ ।

बस दुर्घटनाका घाइते भएकाहरूको यथाशीघ्र उद्धार गर्न गृहमन्त्री बालकृष्ण खाणले निर्देशन दिएको र त्यसैअनुसार नेपाली सेना र समिट एयरको हेलिकोप्टर घटनास्थलमा पुगिसकेको गृहमन्त्रालयका प्रवक्ता फणिन्द्रमणी पोखरेलले जानकारी दिए ।

अहिले हेलिकोप्टरबाट घाइतेलाई नेपालगञ्ज ल्याउने काम भइरहेको उनले बताए ।

यो पनि : मुगुमा बस दुर्घटना‚ २२ को मृत्यु

अहिले सुर्खेतबाट नेपाली सेनाको हेलिकोप्टर दुर्घटनास्थलमा पुगेर एयरपोर्टसम्म घाइतेलाई ल्याइरहेको प्रवक्ता पोखरेलले जानकारी दिनुभयो । साथै समिट एयरको हेलिकोप्टरले पनि घाइतेलाई नेपालगञ्जसम्म ल्याइरहेको प्रवक्ता पोखरेलले बताए ।

जुम्ला मुगु सडकखण्डमा नेपालगञ्जबाट गमगढीका लागि जाँदै गरेको भे १ ख ३१६७ नम्बरको बस दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । घाइतेभएका मध्ये १७ जनाको अवस्था गम्भीर भएको गृहमन्त्रालयका प्रवक्ता पोखरेलले जानकारी दिए ।

गृहमन्त्री खाणले मुगुका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुखलाई पनि तत्काल उद्धारमा खटिन निर्देशन दिएका छन् । अहिले घटनास्थलमा जिल्ला प्रहरी कार्यालय मुगुबाट प्रहरी नायव उपरीक्षक चित्रबहादुर भट्टराईको नेतृत्वको र पिना प्रहरी चौकी मुगुबाट प्रहरी सहायक निरीक्षक जोरासिंह खड्काको नेतृत्वमा टोली घटनास्थलमा पुगिसकेको पनि गृह मन्त्रालयले जनाएको छ ।
अझै घटनाको पूर्ण विवरण आइसकेको भने छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *