मोतीपुर घटनाका मृतक परिवारलाई प्रदेश सरकारले जनही एक लाख दिने

काठमाडौँ । रूपन्देहीको मोतीपुरमा भएको घटनामा मृत्यु भएका परिवारलाई लुम्बिनी प्रदेश सरकारले राहतस्वरूप जनही एक लाख रुपैयाँ दिने भएको छ । मृतक परिवारलाई राहतस्वरूप नगद सहयोग गर्ने र दुवै पक्षबाट भएका घाइतेको उपचारको जिम्मेवारी सरकारले लिने निर्णय भएको मुख्यमन्त्रीका प्रेस संयोजक मानसिंह विकले जानकारी दिए ।

आज बसेको सुरक्षा समितिको बैठकमा मुख्यमन्त्री कुलप्रसाद केसीले राहत प्रदान गर्न आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्मालाई जिम्मेवारी प्रदान गरे ।

मुख्यमन्त्री केसीले मोतीपुरका वास्तविक सुकम्बासीको समस्या हल गर्नका लागि सकुम्बासी समस्या सामाधान सुझाव कार्यदल निर्माण गर्न रुपन्देहीका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएका छन् । बैठकमा आन्तरिक मामिला तथा सञ्चार मन्त्री शर्माले घटना संवेदनशील भएको बताउँदै आगामी दिनका लागि सतर्क हुन र सबैलाई सम्वेदनशील बन्न अनुरोध गरे । बैठकमा लुम्बिनी प्रदेशका सुरक्षा निकायको सहभागिता रहेको थियो ।

बुटवल उपमहानगरपालिका–१७ मोतिपुरमा सुकुम्बासीको नाममा निर्माणाधीन औद्योगिक क्षेत्रको जग्गा कब्जा गर्न खोज्ने समूह र प्रहरीबीच आइतबार झडप हुँदा चार जनाको मृत्यु भएको थियो ।

घाइते प्रहरीलाई थप उपचारका लागि काठमाडौँ पठाइयो
आइतबार भएको झडपमा परी घाइते भएका नेपाल प्रहरी र सशस्त्र प्रहरीका चार जवानलाई उपचारका लागि काठमाडौँ लगिएको छ ।

सुकुम्बासीका नाममा समूह बनाएर घरटहरा बनाएकासँगको दोहोरो झडपमा परी सशस्त्र प्रहरी, नेपाल प्रहरी र सर्वसाधारणसहित ७४ जना घाइते भएका हुन् । झडपमा परी गम्भीर घाइते भएका नेपाल प्रहरीका दुई र सशस्त्र प्रहरीका दुई जना गरी चार जनालाई थप उपचारका लागि काठमाडौँ लगिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक मनोज केसीले जानकारी दिए ।

इलाका प्रहरी कार्यालय बुटवलमा कार्यरत २८ वर्षीय प्रहरी जवान जयप्रकाश थारु र दङ्गा प्रहरी नियन्त्रण सुनवलमा कार्यरत प्रहरी जवान यज्ञराज पुन मगरलाई उपचारका लागि काठमाडौँ पठाइएको हो ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर २८ गण कपिलवस्तुमा कार्यरत ३६ वर्षीय हवल्दार तिलकबहादुर धामी र ३६ वर्षीय जवान खुसीराम चौधरीलाई काठमाडौँ पठाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *