सूचना नदिने पद्मकन्या क्याम्पस प्रमुखलाई १५ हजार जरिवाना

काठमाडौँ । सूचना नदिने एक प्रधानाध्यापकलाई १५ हजार रुपैयाँ जरिवाना गर्ने फैसला गरिएको छ । राष्ट्रिय सूचना आयोगले सूचना नदिने पद्मकन्या क्याम्पस (बागबजार)का प्रधानाध्यापक धनप्रसाद पण्डितलाई १५ हजार रुपैयाँ जरिवाना गर्ने फैसला गरेको हो ।

सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-१० घर भइ हाल काठमाडौँ कपन बस्ने आदित्य दाहालले गरेको पुनरावेदनमा सूचना आयोगले यस्तो फैसला गरेको छ । दाहालले पद्मकन्या क्याम्पससँग २०७३/७४ देखि २०७५/७६ सम्मको आन्तरिक र महालेखा लेखापरीक्षकको अन्तिम लेखा परीक्षण प्रतिवेदनको प्रमाणित प्रतिलिपि मागेका थिए । साथै दाहालले क्याम्पसमा सूचना अधिकारी तोकिएको छ/छैन भन्ने जानकारी माग्दै सूचना अधकारी तोकिएको भए नियुक्ति गर्ने निर्णयका साथै नियुक्तिपत्रको प्रमाणित प्रतिलिपिसमेत मागेका थिए ।

सूचनाको हकसम्बन्धी ऐन २०६४, अनुसार क्याम्पससँग माग गरेको सूचना नपाएपछि दाहालले कानुनअनुसार राष्ट्रिय सूचना आयोगमा २०७७ पुस २३ गते सूचना नदिने प्रमुख र सूचना अधिकारीलाई विपक्षी बनाई पुनरावेदन दर्ता गरेका थिए । त्यसपछि सूचना उपलब्ध गराउनु भन्दै आयोगबाट पटक-पटक भएको आदेशको पालना नगरी सूचना उपलब्ध नगराएकाले संविधान प्रदत्त नागरिक अधिकार र कानुनले व्यवस्था गरेको सूचनाको हकको ठाडो उल्लङ्घन गरेको भन्दै आयोगले १५ हजार जरिवाना हुने ठहर गरेको हो ।

सूचना आयोगले कार्यालय प्रमुखलाई सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ३२ को उपदफा १ बमोजिम अक्षरेपी १५ हजार जरिवाना हुने र सूचना उपलब्ध गराउनुपर्ने फैसला गरेको हो । पुनरावेदकले मागेको सूचनासमेत उपलब्ध नगराएको, आयोगबाट भएका आदेश र पत्राचारको समेत पटक-पटक उल्लङ्घन साथै गैरजिम्मेवार चरित्र प्रदर्शन गरेकाले संविधान प्रदत्त नागरिकको मौलिक हकको प्रचलनका लागि दण्डित गर्नुपर्ने देखिएको आयोगको निर्णयमा उल्लेख छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *