प्रदेश नं. १

सरकार बर्खास्तीको माग गर्दै विपक्षी गठबन्धन प्रदेश प्रमुख कार्यालय जाने

विराटनगर । प्रदेश नं. १ मा विपक्षी गठबन्धन सरकारविरुद्ध प्रदेश प्रमुख कार्यालय जाने भएको छ । आइतबार (आज) बसेको गठबन्धनको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले सरकार असंवैधानिक भइसकेकोले बर्खास्तीको लागि निवेदनसहित प्रदेश प्रमुखको कार्यालय जाने निर्णय गरेको हो ।

नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक केदार कार्कीकाअनुसार सभामुख र सरकारबीच मिलेमतो रहेकोसमेत बैठकले निष्कर्ष निकालेको छ । सरकारको आयु हिजै सकिएको भए पनि अहिलेसम्म रहिरहनु असंवैधानिक रहेको बैठकले ठहर गरेको छ ।

सरकारले विश्वासको मत लिने भनेर भनिरहे पनि आधिकारिक प्रस्ताव प्रदेश सभामा नआएको र यसले प्रदेश सभा नियमावली र संविधानको मर्मविरुद्ध भएको नेताहरूले बताएका छन् । नेता कार्कीले भने, ‘यसले प्रदेश सभा नियमावली र संविधानलाई नै चुनौती दिएको छ । यसकारण हाम्रो बैठकले निवेदनसहित प्रदेश प्रमुखको कार्यालय जाने निर्णय गरको हो ।’

सरकारले ३० दिन बितिसक्दा पनि विश्वासको मतका लागि प्रस्ताव दर्ता नगर्नुलाई विपक्षी गठबन्धनले संविधानलाई चुनौती दिएको रूपमा बुझेको छ । ‘सरकारले आजै विश्वासको मतका लागि प्रस्ताव दर्ता गर्नुपर्ने थियो, तर गराएन,’ कार्कीले भने, ‘सरकारको आयु सकिएको छ । हामीलाई सरकारका कुनै निर्णय मान्य हुँदैन ।’

यस्तै विपक्षीले असंवैधानिक सरकारले गरेका कुनैपनि सरकारी गठन, विघटन, सरुवा बढुवा, बजेट बाँडफाँड, नियुक्तिहरू सबै अमान्य हुने बताएको छ ।

भोलि संसद्मा प्रस्ताव दर्ता भयो भने प्रस्ताव टुंगो नलाग्दासम्म सदन सुचारु हुनुपर्ने पनि विपक्षीको माग छ । भोलिलाई बैठक बोलाएको छ । तर, एमालेका सबै सांसद घर जानुले संसद् सुचना टाँस गरेर स्थगित हुने हो की भन्ने आशंकामा विपक्षी देखिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *