प्रदेश १ : सरकारको सारथी नबन्न सभामुखलाई विपक्षीको दबाब

विराटनगर । प्रदेश १ सभामा सरकारले विश्वासको मत नलिएको भन्दै विपक्षीले सरकारको आलोचना गरेका छन् ।

आइतबारको प्रदेश सभाको बैठकमा सरकारले विश्वासको मत नलिएको भन्दै सरकारको आलोचना गरेका हुन् । प्रदेश सभामा विशेष समय लिएर बोल्दै नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्रकुमार राईले सरकारले लाजलाई छोप्ने कुनै उपाय बाँकी नराखेको टिप्पणी गरे ।

‘सरकारले लाजलाई हातले पातले छोप्ने मौका रहेपनि त्यो पाटोमा पनि सरकार जान चाहेन,’ उनले भने, ‘सभामुखको जिम्मेवारीबारेमा पनि प्रश्न उठेको छ ।’

कार्यपालिकालाई कहिले न्यायपालिकाले त कहिले व्यवस्थापिकाले लयमा ल्याउनुपर्ने बताउँदै राईले यदि सरकार संविधान र ऐन कानूनलाई नमान्ने गरी अराजक रुपमा अघि बढेको अवस्थामा पनि सभामुखले अंकुश लगाउने भूमिका निर्वाह गर्नुपर्ने बताए । उनले सरकारकै दिनगन्तीको रुपमा पनि ३० दिन पुगेको भएपनि विश्वासको मत नलिएको‚ तथा विश्वासको मतका लागि प्रस्ताव पनि पेश गर्ने काम नभएको भन्दै सरकारको अलोचना गरे ।

‘संविधानअनुसार ३० दिनभित्र विश्वासको मत नलिएको यस्तो अवस्थामा सभामुखको भूमिका हुनुपर्ने हो कि हैन ?’ उनले प्रश्न गर्दै भने, ‘कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएन, सभामुखले सर्वदलीय बैठक बोलाउनुपर्थ्यो‚ किन बोलाइएन ।’

संविधान उल्लंघन भएको अवस्थामा संसद् बैठक बोलाउन सक्दिनँ भनेर सर्वदलीय बैठक बोलाउनुपर्ने थियो,’ संविधानको धारा मिचिँदैछ भनेर भन्नुपर्ने थियो‚ त्यो नभनी मिलिभगत र सरसल्लाहमा यस्तो भएको भन्दै उनले सभामुखमाथि आशंका व्यक्त गरे ।

‘सरकारको हैसियत के ? ईतिहासको पहिलो र धेरै वर्ष बिताइसकेका सभामुख विवादमा आउनुहुँदैन भन्ने हो,’ उनले भने, ‘यो समयमा आएर सभामुखज्यूबाट विवादमा पर्ने‚ त्यो पनि संविधान मिचिनेको हिस्सेदार बन्ने र कलंकको टिका लगाउने खालको काम हुनु भएन ।’

विशेष समय लिएर बोल्दै नेकपा माओवादी केन्द्र संसदीय दलका नेता ईन्द्रबहादुर आङ्बोले सभामुखको भूमिकामा आशंका व्यक्त गरे । संविधानको परिपालना र कार्यान्वयनमा ध्यान दिन सभामुखलाई ध्यान दिन उनले आग्रहसमेत गरे ।

उनले सरकारलाई रुलिङ गर्दै ट्र्याकमा ल्याउन आग्रह गर्दै भने‚ ‘सरकारले प्रस्तावनै ल्याएको छैन भनेर बस्न मिल्दैन । दसैंको मुखमा संसद् बोलाएर फेरि दसैं भनेर हुँदैन, जहिल्यै पनि हामी छलफल गर्न तयार छौँ ।’

आङ्बोले सरकारको सारथी सभामुखलाई नबन्न ध्यानाकर्षण गराए ।

‘संविधान र नियमावलीको बाटो सरकार हिँडोस् भन्ने चाहना राख्दा उहाँहरू हामीलाई अदालत जाने बाटो देखाउनुहुन्छ, चुनावको बाटो देखाउनु हुन्छ,’ आङ्बोले भने, ‘सरकार तपाईँहरू नै चलाउनुस् तर सदनबाट विश्वासको मत लिनुस् ।’

संविधानको अपव्याख्या नगर्न आग्रह गर्दै आङ्बोले तत्काल विश्वासको मत लिएर सरकार संचालन गर्नुपर्ने यदि बहुमत पुग्दैन भने मार्ग प्रशस्त गर्नुपर्ने बताए । उनले आजै सरकारलाई रुलिङ गरेर विश्वासको मत लिने वातावरण बनाउन भनेपनि सभामुख प्रदिपकुमार भण्डारीले कुने रुलिङ नै नगरी प्रदेश सभाको बैठक २५ गते दिउँसो २ बजेलाई बोलाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *