बाहिरिन थाल्यो मनसुन, अब ठूलो पानी नपर्ने

काठमाडौँ । ठूलो जनधनको क्षति गराउँदै औषत मितिभन्दा छ दिन ढिला गरी नेपालबाट मनसुन बाहिरिन थालेको छ । मनसुन बहिर्गमनको औसत मिति अक्टोबर २ भए पनि शुक्रबार (अक्टोबर ८) मा नेपालको पश्चिम क्षेत्रबाट मनसुन बाहिरिन थालेको हो ।

नेपालको सुदूरपश्चिम र कर्णाली प्रदेशमा पूर्ण र लुम्बिनी प्रदेशको पश्चिमी भू-भागबाट मनसुन बहिर्गमन भएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अबको केही दिनमा देशका बाँकी भू-भागबाट मनसुन बहिर्गमन हुने अनुमान गरिएको महाशाखाका मौसमविद् मञ्जु बासीले जानकारी दिइन् ।

मौसम पूर्वानुमान महाशाखाले नियमितरूपमा मनसुन बहिर्गमन प्रक्रियालाई अनुगमन गरिरहेकाले थप जानकारीपछि अद्यावधिक गरिने जनाएको छ । अहिले मनसुनको ठूलो प्रभाव नरहे पनि प्रदेश नं १, २, बागमती र गण्डकीमा हल्का बदलीको अवस्था रहेको छ । अब ठूलो वर्षाको सम्भावना भने कम छ ।

बङ्गालको खाडी आसपास विकसित भएको (न्यून चापीय क्षेत्र)का कारण मुलुकको पूर्वी भेगबाट गएको जेठ २८ मा मनसुन (वर्षायाम) भित्रिएको थियो । उक्त दिन नेपालको प्रदेश नं १, २ र बागमती प्रदेशमा भित्रिएकामा जेठ ३० मा मुलुकभर नै फैलिएको थियो । सरदरभन्दा बढी पानी पर्ने आकलन गरिएको नेपालमा सोहीअनुसार नै वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

सामान्यतः विगतमा १० वर्षयता जुन १० मा मनसुन भित्रिएर सेप्टेम्बर २३ मा बाहिरिन्थ्यो । यस वर्षदेखि मनसुन भित्रिने दिन जुन १३ थियो । त्यसको दुई दिनअघि नै मनसुन भित्रिएको थियो भने छ दिनपछि बहिर्गमन हुन थालेको छ । सरदर वर्षाको आँकडा विश्लेषण गरेर मनसुनको मिति तय गरिनेछ ।

यस्तो छ तीन दिनको पूर्वानुमान

आइतबार
दिउँसो: देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/ चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राती: देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, बागमती र गण्डकी प्रदेशका एक/दुई स्थानहरूमा मेघगर्जन/ चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

सोमबार
दिउँसो: देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भू-भागका केही स्थानहरूमा मेघगर्जन/ चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राती: देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भू-भागका एक वा दुई स्थानहरूमा मेघगर्जन/ चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

मंगलबार
दिउँसो: देशभर सामान्यतया सफादेखि आंशिक बदली रही गण्डकी , लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/ चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राती: देशभर सामान्यतया सफादेखि आंशिक बदली रहनेछ । सुदूरपश्चिम प्रदेशको एक वा दुई स्थानमा मेघगर्जन/ चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *