दुई नाबालक छोराको हत्यापछि आमाले गरिन् आत्महत्या

जनकपुरधाम । धनुषामा एक महिलाले दुई नाबालक छोराको हत्या गरी आफू पनि आत्महत्या गरेकी छिन् ।

शुक्रबार साँझ धनुषाको नगराईन नगरपालिका-४ लगमा बस्ने गुरुदेव साहकी श्रीमती गुडियादेवी साहले ५ वर्षीय छोरा अभिषेक र ३ वर्षीय छोरा आदित्यलाई घाँटी कसेर हत्या गरिसकेपछि आफूले पनि पासो लगाएर आत्महत्या गरेकी हुन् ।

मजदुरको काम गर्ने श्रीमान् गुरुदेव कामको सिलसिलामा जनकपुर आएको बेला गुडियाले यस्तो घटना गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता डिएसपी जितेन्द्र बस्नेतले जानकारी दिए । उनका अनुसार साँझ घरमा वृद्ध सासू ससुरामात्रै थिए । ३ बजे अघि श्रीमानलाई गुडियाले फोन गरेको केहीबेरपछि गुडियाले घटना गराएको प्रारम्भिक अनुसन्धानबाट खुलेको बस्नेतले बताएका छन् ।

डिएसपी बस्नेतका अनुसार प्रेम विवाह गरेका गुडियाको माइती पक्षले हालसम्म स्वीकार नगरेको अनुसन्धानको क्रममा भेटिएको छ । अनुसन्धानबाट श्रीमान् श्रीमतीबिच कुनै प्रकारको विवाद नभएको पाइएको छ । तीन जनाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको र घटना विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *