राजपुरको बाल्साही: एकजनाको सीप, २२ परिवारको व्यवसाय

रौतहट (राजपुर) । रौतहटको राजपुर- ७ मा लहरै खोलिएका केही पसल छन् । छेवैमा रहेको नहरको डिलमा रहेको यो चोकलाई स्थानीय बासिन्दा डमारचोक भन्छन् । यही डमारचोकमा गौरीशङ्कर साह ‘बाल्साही’ व्यापार गर्छन् ।

गौरीशङ्करलाई बाल्साही बेच्न भ्याईनभ्याई हुन्छ । उनको परिवारले यो व्यापार थालेको ६ दशक पुग्न लाग्यो । दूधबाट बनाइने यो परिकार बनाउने काम गौरीशङ्करका बुबा भोला र हजुरबुबा जोगी साहले पनि गरेको उनले सुनाए ।

लामो अनुभव र मिठो स्वादका कारण आफूले बनाउने बालसाही लोकप्रिय रहेको गौरीशङ्कर बताउँछन् । ‘एकपटक यहाँ आएर हाम्रो बालसाही खाएकाहरू फेरि फेरि आउँदा जाँदा यहाँ पसेर किनेर लैजान्छन्‚’ उनले दङ्ग पर्दै सुनाए । अहिले दैनिक १२ हजारभन्दा बढीको कारोबार हुने र जसबाट ३ हजार हाराहारी नाफा हुने उनले बताए ।

बालसाही दूधबाट बनाइने मिठाइको नाम हो । दूधलाई फटाएर छनौटा बनाउने, त्यसलाई दूधको पाकमा हालेर मज्जाले पकाएपछि मात्र डल्ला पारेर खानयोग्य बनाइने बालसाही व्यवसायीहरू बताउँछन् । एक किलो दूधको १२ देखि १५ वटासम्म बन्ने बालसाही प्रतिगोटा १० रुपैयाँ र किलोको ४ सय रुपैयाँमा बिक्री गर्ने गरिएको छ ।

गौरीशङ्करमात्र होइन‚ डमारचोकमा बाल्साही बेचेर जीवन चलाउने २२ जना छन् । ४० वर्षदेखि व्यवसाय गर्दै आएका वकिल साहले अहिले व्यापार छोरालाई हस्तान्तरण गरेका छन् । वकिलका छोरा नवलकिशोरका अनुसार बालसाही रसबरी, सरमलाई वा लड्डुजस्तो देखिए पनि यो बेग्लै स्वाद र विशेषता बोकेको मिठाइ हो ।

एकजनाको सीपले फैलिएको व्यवसाय
यो मिठाई करिब ७० वर्ष पहिला एकजना कालीगढले भारतमा सिकेर आएर बनाउन थालेको वकिलले बताए । शेख कईल नाम गरेका मुस्लिम समुदायका ती कालिगढले भारतका विभिन्न ठाउँमा काम गर्न जाँदा यो मिठाइ बनाउन सिकेको र पछि कालिगढी छाडेर डमार चोकमा एउटा झुप्रोबाट व्यापार थालेका थिए । सुरुमा यो सीप जानेका उनीमात्र थिए । पछि‚ गाउँका एक दुई जनाले सिके र थप पसल खोल्दै गए ।

अहिले २२ वटा बालसाही मात्र बेच्ने पसल रहेको वकिलले जानकारी दिए । एउटा पसलले दैनिक औसतमा ३ हजारभन्दा बढीको कारोबार गर्ने गरेको अर्का व्यवसायी रिजवन खान बताउँछन् । यो व्यवसायमा युवाहरूको पनि उस्तै आकर्षण देखिन्छ । यो सीप पुस्तान्तरण हुँदै आएको छ । पेसा हस्तान्तरणकै क्रममा १८ वर्षीय रिजवनले पनि बालसाही बनाउने सीप सिके र व्यवसाय खोले ।

रौतहट जाने क्रममा मिठाईका लागि डमारचोकमा पुगेका मोरङका विनोद चौधरीले मिठो लाग्ने गरेकाले आफू उक्त बाटो हिँड्दा सधैँ बालसाही किन्ने गरेको बताए । दशैँका बेला आउजाउ गर्ने क्रम सुरु भइसकेका बेला डमारचोकको यो बालसाही मिठाई मन पराउने जो कोहीलाई पनि खान र लिएर जान राम्रो कोसेली बन्न सक्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *