नवरात्रको तेस्रो दिन: आज चन्द्रघण्टा देवीको आराधना

काठमाडाैँ । नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा गरिँदै छ। दशैँकाे घटस्थापनासँगै नवदुर्गाका ९ वटा रूपहरूको पूजा गर्ने परम्परा छ ।

हिन्दु धर्मावलम्बीहरूले वैदिक विधिमार्फत यस दिन चन्द्रघण्टा देवीको पूजा आराधना गर्छन्। घटस्थापनाका दिनदेखि सुरु भएको नवरात्रको तेस्रो दिनको पूजा विधि पनि घटस्थापनाको जस्तै हो । घटस्थापनाको दिन राखेको जमरालाई झिसमिसे बिहानीमै आत्म शुद्धि पश्चात् नदी, खोलाबाट ल्याएको पवित्र जलले सिञ्चित गरिन्छ ।

तेस्रो दिन चन्द्रघण्टा भगवतीको पूजा आराधना अनि जलपूर्ण कलशमा पञ्च पल्लव चढाई अनन्त शक्तिस्वरूपा महाकाली, महालक्ष्मी र महासरस्वतीको पूजाआजा गरिन्छ। हाम्रो धर्म, संस्कृति अनुसार कलशमै सम्पूर्ण देवी देवता, सागर, सप्तद्वीप, सम्पूर्ण नदी एवं तीर्थहरू निहित हुन्छन् ।

दशैँको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धि दात्रीको पूजा आराधना गरिन्छ । आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म दशैं पर्व मनाउने चलन छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *