प्रदेश १ मा आफ्नै नेतृत्वमा सरकार बनाउने कांग्रेसको तयारी 

विराटनगर । नेपाली कांग्रेसको प्रदेश १ संसदीय दलको बैठकले कांग्रेस नेतृत्वको सरकारका लागि सबै विकल्प खुल्ला राख्ने निर्णय गरेको छ। बिहीबार साँझ विराटनगरस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकले  कांग्रेस नेतृत्वको सरकार बनाउने बारेमा सबै विकल्प खुल्ला राख्ने निर्णय गरेको संसदीय दलका नेता राजीव कोइरालाले बताए ।

प्रदेश १ सरकारको नेतृत्व कांग्रेसले नै लिनु पर्ने सबै सांसद एक मत देखिएका छन् । प्रदेश १ मा दोस्रो ठूलो दल कांग्रेस भएकोले सरकारको नेतृत्व आफूहरूले नै पाउनु पर्छ भन्नेमा कांग्रेस सांसदको एक स्वर छ ।

‘सरकार बन्दै गर्दा सरकारको नेतृत्व कांग्रेसले पाउनु पर्ने निर्णय भएको छ, बैठकमा सहभागी एक सांसदले भने, पहिलो चरणमा कांग्रेस नेतृत्वको सरकारको हुनु पर्ने त्यसो नहुँदा आलोपालोमा भए पनि हुनु पर्ने भन्ने बारेमा छलफल भएको छ ।’

नेपाली कांग्रेस संसदीय दलको बैठकमा एकल वा आलोपालोमा पनि कुरा नमिल्दा तेस्रो विकल्पको पनि खोजी गरिएको छ। अहिलेको गठबन्धनको परम्परा र संस्कृतिमा कांग्रेसले आफ्नो हित नदेख्दा कांग्रेसको हित अनुकूलको प्रस्ताव आए एमालेसँग पनि वार्ता गर्ने भनिएको छ।

केन्द्रीय सत्ता समीकरण अनुसार प्रदेश १ को सरकारको नेतृत्व नेकपा एकीकृत समाजवादी पार्टी संसदीय दलका नेता राजेन्द्र राईले मुख्यमन्त्री पाउने केन्द्री गठबन्धनभित्र छलफल भएको छ । केन्द्रले नेकपा एसलाई प्रदेश १ को मुख्यमन्त्री दिने भन्ने बारेमा मिडियामा आएपछि नेपाली कांग्रेसले केन्द्रलाई दबाब दिन तथा अन्य पार्टीसँग वार्ता गर्न ७ सदस्यीय समिति पनि बनाएको छ  ।

‘सङ्कटमा प्रतिनिधित्व गर्ने कांग्रेसलाई हित गर्ने अवस्थामा गठबन्धन भनेर बस्न सक्ने अवस्था रहँदैन, बैठकमा सहभागी ती सांसदले भने,  कांग्रेसको नेतृत्वमा सरकारमा जाने भनेर एमाले आयो भने पनि जानु पर्छ भन्ने बारेमा पनि बैठकमा छलफल भएको थियो ।’

कांग्रेसले पार्टी भित्र दबाब दिन, अन्य दलसँग छलफल र वार्ताको लागि नेपाली कांग्रेस संसदीय दलभित्र ७ जना सांसद रहेको समिति पनि बनाएको छ। समितिमा संसदीय दलका नेता  राजीव कोइराला, उपनेता हिमाल कार्की, प्रमुख सचेतक केदार कार्की, संसदीय दलका सचिव चुमनारायण दवदार, सांसद शेखर थापा र बिन्दिया कार्की छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *