प्रदेशसभाको नवौँ अधिवेशन आजदेखि शुरु हुँदै

विराटनगर ।  प्रदेश १ सभाको नवौँ अधिवेशन आज देखि शुरु हुँदैछ ।  नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले  प्रदेश १ को प्रदेश सभाको नवौँ तथा हिउँदे अधिवेशन आज बोलाएका हुन्  ।

आज दिउँसो २ बजे आह्वान गरिएको संसद् बैठकमा कुनै औपचारिक कार्यसूची भने सार्वजनिक गरिएको छैन । संसद् सचिवालयका अनुसार कार्यव्यवस्था परामर्श समितिको बैठक पछि कार्यसूची तय हुने बताइएको छ ।

संसद् सचिवालयले भने यस अघि जसरी संसद्को अधिवेशन शुरु हुन्थ्यो त्यही प्रकृतिबाट संसद् अधिवेशन शुरु हुने बताएको छ ।  विपक्षी गठबन्धनले  कुनै पनि कार्यसूची नराखी मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिनु पर्ने बताउँदै आएको छ ।

कार्यसूची बारे छलफल गर्न सभामुखले बिहान ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । अल्पमतमा परेका मुख्यमन्त्रीको पहिलो काम प्रदेश सभाबाट विश्वासको मत लिनु पर्ने विपक्षी गठबन्धनको भनाई छ ।

नेकपा माओवादी संसदीय दलका नेता ईन्द्र आङ्बोले अल्पमतमा हरेको प्रदेश सरकारले आजै विश्वासको मतका लागि प्रदेश सभामा प्रस्ताव राख्नु पर्ने बताए ।  ‘विश्वासको मत लिनु भन्दा २ दिन अगाडि विश्वासको मतको लागि प्रस्ताव प्रदेश सभामा पेस गर्नु पर्ने प्रदेश सभा नियमावलीमा व्यवस्था छ, उनले भने, सरकारले आजै प्रस्ताव पेस गरेर २४ गते छलफल गरेर टुङ्ग्याउनु पर्छ ।’

प्रदेश सरकारको तर्फबाट विश्वासको मत लिन आजै प्रस्ताव दर्ता गर्ने छनक देखिएको छैन । विश्वासको प्रस्ताव नआएको अवस्थामा  विपक्षी गठबन्धन कसरी अघि बढ्ने भन्ने बारेमा छलफल गर्न कार्यव्यवस्था परामर्श समितिको बैठकपछि विपक्षी गठबन्धनको बैठक बस्ने तयारी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *