प्रदेश २

विश्वासको मत लिँदै मुख्यमन्त्री राउत

जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आज विश्वासको मत लिने भएका छन् । विश्वासको मत लिनका लागि प्रदेशसभा अधिवेशन आह्वान गरिएको छ ।

मन्त्रीपरिषद्को बैठकबाट मुख्यमन्त्री लालबाबु राउतले विश्वासको मत लिनका लागि असोज २० मा प्रदेशसभा अधिवेशन आह्वान गर्ने निर्णय गरेको थियो । करिब तीन महिनादेखि स्थगित संसद् बैठक आह्वान गरिएको हो । सत्तारुढ दल जनता समाजवादी पार्टी विभाजन भएपछि संवैधानिक प्रावधान बमोजिम मुख्यमन्त्री राउतले विश्वासको मत लिन लागेका हुन् ।

मुख्यमन्त्री राउतले विश्वासको मत लिन एक साताअघि नै प्रदेशसभा सचिवालयलाई परिपत्र गरेका थिए । २० असोजदेखि नै प्रदेशसभाको ७ औँ अधिवेशन समेत आह्वान गरिएको छ । संविधानको धारा १८८ को उपधारा २ अनुसार मुख्यमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सत्ता साझेदार दल विभाजन तथा आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने प्रावधान छ ।

अहिले प्रदेश २ मा जसपा, काँग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धन सरकारको छ भने नेकपा एकीकृत समाजवादीले समेत मुख्यमन्त्री राउतलाई नै समर्थन गर्ने जनाएको छ । यस हिसाबले मुख्यमन्त्री राउतसँग प्रदेशसभाको एक सय चार सदस्यमध्ये दुई तिहाइ भन्दा बढीको बहुमत रहेको छ ।

प्रदेशसभामा जसपाका ३९, काँग्रेसका १९, एकीकृत समाजवादीका १३, माओवादी केन्द्रका आठ र रिजवान अन्सारी नेतृत्वको नेपाल सङ्घीय समाजवादी पार्टीका एकजना गरी जम्मा ८० जना सांसदको मुख्यमन्त्री राउतलाई समर्थन रहने जसपाका एक नेताले दाबी गरे ।

लोकतान्त्रिक समाजवादी पार्टी ‘लोसपा’ र नेकपा एमाले प्रदेश सरकारको विपक्षमा रहनेछन् । यसरी हेर्दा प्रदेशसभा २ मा जनता समाजवादी पार्टी नेपालको दलका नेता समेत रहेका राउतले सत्ता साझेदार दलहरूका प्रदेशसभा सदस्य सङ्ख्याका भरमा सजिलै विश्वासको मत प्राप्त गर्ने देखिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *