प्रभु साह र गौरीशंकर चौधरी माओवादीमै फर्किएलान् ?

काठमाडौँ । नेकपा (एमाले) मा असन्तुष्ट रहेका माओवादीका पूर्व नेताहरू प्रभु साह र गौरीशंकर चौधरीलाई माओवादी केन्द्रमै फर्काउने प्रयास सुरु भएको छ । तत्कालीन नेकपा एकीकरणपूर्वको अवस्थामा फर्किएपछि एमालेकै कोटाबाट मन्त्री बनेका साह र चौधरी एमालेमा असन्तुष्ट छन् ।

साहले त एमाले विधान महाधिवेशन नै बहिष्कार गरे भने चौधरी महाधिवेशनमा सहभागी भए । उनले पनि आफू नेकपा एकताकै पक्षमा रहेको भन्दै एमाले नभन्न आग्रह गर्दै आएका छन् । साहले एमालेमा ८ बुँदे फरक मतसमेत राखे । साहले नेकपा एकताको निरन्तरता भनेर मात्र नपुग्ने, व्यवहारमा पनि सोहीअनुसारको विचार र संगठन हुनुपर्ने माग गरेको थिए ।

सँगै जबजको साटो जनताको जनवाद भन्नुपर्ने र तत्कालीन माओवादीका नेताहरूलाई सोहीबमोजिमको पद दिनुपर्नेलगायका माग राखेका थिए । यद्यपि एमाले नेतृत्वबाट कुनै खाले प्रतिक्रिया नआएपछि उनले विधान महाधिवेशन बहिष्कार गरेका थिए ।

अहिले माओवादी केन्द्रले यी दुई नेतासहित उनीहरूको टिमलाई पुनः माओवादीमै फर्काउने प्रयास सुरु गरिएको माओवादी केन्द्रका नेताहरूले बताएका छन् । यसका लागि माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि सकारात्मक रहेको प्रचण्ड निकट एक नेताले बताए । साह र चौधरीलाई फर्काउनका लागि आवश्यक छलफल तथा संवाद भइरहेको छ, यसमा हेडक्वाटर पनि सकारात्मक भएरै कुरा अघि बढेको हो । ती नेताले मकालुखबरसँग भने ।

गत आइतबार काठमाडौँमा भएको कार्यक्रममा अध्यक्ष प्रचण्डले पूर्वमाओवादी ध्रुवीकरणको चर्चा गर्दै ठूलै नेताहरू पनि माओवादीमा फर्किन लागेको तर नामचाहिँ अहिल्यै नभन्ने बताएका थिए । उनले यसका लागि आवश्यक वार्ता भइरहेको पनि उनले बताएका थिए । प्रदेश २ का साहले आफूनिकट नेताहरूलाई संगठित गर्दै आएका छन् ।

उनकै निर्देशनमा २५ नेताहरूले एमालेको प्रदेश समिति अस्वीकार गरेका छन् । यद्यपि उनीहरूबीच नयाँ दल बनाउने विषयमासमेत छलफल भइरहेको उनी निकट नेताहरू बताउँछन् ।  यो विषयमा छलफल भइरहेको कुरालाई साह निकट नेताहरूले पनि पुष्टि गरेका छन् ।

पूर्वमाओवादी ध्रुवीकरण भए फर्किन्छु : चौधरी
चौधरी आफू अहिले दलगत संलग्नताबाट टाढा रहेको बताउँछन् । हेर्दा एमालेमा रहेजस्तो देखिए पनि वास्तविकतामा आफू कुनै पनि दलमा नरहेको नेता चौधरीको भनाइ छ ।

आफू सधैँ नेकपा एकताको पक्षमा रहेको रहेको उल्लेख गर्दै चौधरीले भने, ‘यसभन्दा अन्य केही सोचेको छैन । म सधैँ नेकपा एकताको पक्षमै छु । म एमाले पनि होइन, माओवादी पनि होइन ।’

पुनः माओवादी फर्किँदै हुनुहुन्छ ? भन्ने प्रश्नमा चौधरीले मकालुखबरसँग भने, ‘मैले नेकपा एकता नभए बृहत् माओवादी ध्रुवीकरण भनेको छु । मेरो सर्त यही नै हो । मेरो पहिलो माग र आग्रह भनेको प्रचण्डजी, माधवजीदेखि लिएर केपी ओलीसम्म एक ठाउँ उभिएर नेपाली कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउने भन्ने हो । अथवा नेकपा एकता हो ।’

पुनः नेकपा एकता सम्भव भएको चौधरीले दाबी गरे । अन्तमा चौधरीले पूर्वमाओवादी ध्रुवीकरण भए आफू पनि माओवादीमा फर्किने बताए । तर, त्योभन्दा अगाडि आफ्नो सर्त नै नेकपा एकता भएको चौधरी बताउँछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *