कृष्णनगरमा झाडापखालाले २ जनाको ज्यान लियो, २ सयभन्दा धेरै बिरामी

काठमाडौँ । कपिलवस्तुको कृष्णनगर नगरपालिकामा झाडापखालाको कारण दुई जनाको मृत्यु भएको छ । झाडापखाला नगरपालिकाको वडा नम्बर ५, ७, ८ र ९ मा फैलिएको हो ।

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख हेमराज पाण्डेयका अनुसार वडा नम्बर ८ का ४० वर्षीय रामप्रसाद केवट र वडा नम्बर ९ का ५ वर्षीय बालक राज कश्यपको मृत्यु भएको छ । बालकको स्थानीय निजी क्लिनिकमा उपचारका क्रममा र केवटको घरमै मृत्यु भएको पाण्डेयले बताए । प्रकोप रोकथामका लागि जिल्ला स्वास्थ्य कार्यालयको टोली मंगलबार प्रभावित क्षेत्रमा पुगेको छ भने प्रदेशबाट उपचार टोली समेत त्यहाँ पुगेको उनको भनाई  छ ।

प्रकोप फैलिएपछि शिवराज अस्पताल, निजी क्लिनिक र स्वास्थ्य चौकीमा बिरामीको चाप बढेको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका हेल्थ असिस्टेन्ट उमेशचन्द्र घिमिरेले बताए । नगरपालिकाको बहादुरगन्ज, सुखरामपुर, देवानगढिया, जमुनी, दयानगर, विजयनगर, जुमिला, डबरा लगायतका गाउँमा झाडापखाला र बान्ताका बिरामी बढी देखिएका छन् ।

झाडापखाला के कारण फैलिएको हो भन्ने यकिन कारण पत्ता लागि नसकेपनि वर्षायाममा दूषित पानीको कारण झाडापखाला फैलिएको हुनसक्ने डाक्टरहरूले बताएका छन् । त्यहाँ दुई सयभन्दा धेरै बिरामी परेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *