भवानी खापुङ मन्त्री हुने सम्भावना कति ?

विराटनगर । सरकार विस्तारका कुरा चल्नासाथ मन्त्री बन्नेहरूको नाम पनि चर्चामा आउँछ । तर विस्तार नहुँदासम्म यो अनुमान र चासोको विषय बन्छ ।

सरकार बनेको अढाई महिना नाघ्दा पनि मन्त्रिमण्डल विस्तार हुन नसकेको अहिलेको सरकारमा नेकपा एकीकृत समाजवादीबाट मन्त्री बन्नेहरूको नामको चर्चा हुँदा आउने एउटा नाम हो भवानी खापुङ । संघीय प्रतिनिधिसभामा तेह्रथुमबाट निर्वाचित भएका खापुङ पहिल्यैदेखि नेता माधवकुमार नेपाल निकट रहँदै आएका छन् ।

अहिले दोस्रोपटक सांसद रहेका उनी एमालेमै हुँदा पनि इमान्दार र स्वच्छ छविका नेताका रुपमा चिनिन्छन् । एमालेमा उनी केन्द्रीय अनुशासन आयोगको सदस्य पनि रहेका थिए । पूर्वशिक्षक रहेका उनी शिक्षण पेशाबाट राजीनामा दिएर राजनीतिमा लागेका हुन् ।

प्रदेश १ बाटै एकजना मात्र सांसद रहेकाले उनलाई मन्त्री नबनाए नेकपा एकीकृत समाजवादीका तर्फबाट सिंगो प्रदेशबाटै कोही पनि मन्त्री नहुने भएकाले खापुङको मन्त्री हुने सम्भावना धेरै रहेको नेकपा एसका नेताहरू बताउँछन् ।

यसपटक उनी मन्त्री बन्ने सम्भावनाको अर्को कारण हो- सिंगो प्रदेश १ बाट एक्लो दाबेदारी । अहिले नेकपा (एकीकृत समाजवादी)मा वरिष्ठ नेता झलनाथ खनाल र खापुङमात्र सांसद छन् । खनाल मन्त्रीको दाबेदारीमा नरहेकाले पनि खापुङको सम्भावना धेरै रहेको नेकपा एसका नेताहरूको दाबी छ ।

सरकारमा नेकपा एसले पाँचजना मन्त्री पाउने भएको छ । जसमा खापुङसहित विरोध खतिवडा, रामकुमारी झाँक्री, मेटमणी चौधरी, किसान श्रेष्ठ, प्रेम आलेलगायतको नाम चर्चामा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *