सत्र हजार शिक्षक दरबन्दी रिक्त, मंसिर अन्तिमसम्ममा परीक्षा हुन सक्ने

काठमाडौँ । नेपालका सामुदायिक विद्यालयमा १७ हजार शिक्षक दरबन्दी रिक्त रहेको पाइएको छ ।

२०७८ सालको चैत मसान्तसम्ममा माध्यमिक तहमा १५ सय ४२, निमावि तहमा २५ सय ९३ र प्राथमिक तहमा १२ हजार ९ सय १५ गरी १७ हजार ४७ दरबन्दी रिक्त हुने आयोगका सूचना अधिकारी सुदर्शन मरहठ्ठाले जानकारी दिए ।

विषयगत शिक्षकको अभावले विद्यार्थीको पठनपाठनमा प्रत्यक्ष असर पारिरहेका बेला शिक्षक सेवा आयोगले ३ वर्षदेखि शिक्षकको परीक्षा गर्न सकेको छैन । अंग्रेजी, गणित, विज्ञान, संस्कृत र संस्कृतअन्तर्गतकै अन्य ऐच्छिक विषयको पाठ्यक्रम तयार नभएकाले परीक्षाका लागि ढिला भएको मरहठ्ठाले बताए । पाठ्यक्रमअनुसारकै प्रश्नपत्र बनाएर परीक्षा लिनुपर्नेमा पाठ्यक्रम तयार नहुँदा अन्योल सिर्जना भएको उनको भनाइ छ ।

शिक्षक पदपूर्तिको मात्र नभई प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहको बढुवाको परीक्षा नभएको पनि ३ वर्ष भइसकेको छ । रिक्त रहेको दरबन्दी संख्या र बढुवाका लागि आवश्यक संख्यासहितको विवरण शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षक सेवा आयोगमा पठाइसकेको छ ।

बढुवामा माध्यमिक तहको प्रथम श्रेणीमा १ सय २४, द्वितीय श्रेणीमा ४ सय ८४, निम्न माध्यमिक तहको पहिलो श्रेणीमा ७८, दोस्रो श्रेणीमा ४ सय ७८ र प्राथमिक तहको पहिलो श्रेणीमा ४ सय ५२, दोस्रो श्रेणीमा १६ सय ९३ गरी कूल ३ हजार ३ सय ९ को संख्यामा बढुवाको परीक्षा लिने तयारीमा शिक्षक सेवा आयोग रहेको मरहठ्ठाले जानकारी दिएका छन् ।

प्राथमिक तहमा ७७ जिल्लाबाट खुल्लातर्फ ५५ प्रतिशत र बाँकी ४५ प्रतिशत शिक्षक सेवा नियमावलीको समावेशी समूहमा पर्नेहरूका लागि विज्ञापन खुलाइनेछ । निम्न माध्यमिक र माध्यमिक तहको भने प्रदेशगत र विषयगत रुपमा शिक्षकको आवश्यकतालाई पहिचान गरी प्रदेशले परिक्षा लिने तयारी आयोगको छ ।

दशैँ तिहारको छुट्टीपछि सम्भवतः मंसिर अन्तिमसम्ममा विज्ञापन निकाली परीक्षा गर्ने गरी आयोगले तयारी गरिरहेको आयोगका सूचना अधिकारी मरहठ्ठाले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *