न मेकअप, न ब्रेकअप

भगवान् श्रीकृष्णको छोरा साम्बप्रति युवती भुतुक्कै हुन्थे । तर उनको प्रेम भने परमशत्रु दुर्योधनकी छोरी लक्ष्मणासंग बस्यो । उनीहरु एक अर्काप्रति सँगै जिउने, मर्ने कसम खाएका थिए । यिनीहरूको प्रेमले पाण्डव र कौरव पक्षमा ठूलो हल्लीचल्ली मच्चियो । यदुवंशी खलकसँग छोरी लागेको दुर्योधनलाई सह्य थिएन । बाउहरूको जुँगा लडाइँले आफ्नो  पवित्र प्रेम शहीद हुने बुझेपछि दुवैले भागेर विवाह गरे । यो खबर आगोसरि फैलियो । दुर्योधनले तत्काल फौज पठाएर साम्बलाई बन्दीगृहमा राख्यो । दुर्योधनको बन्दीगृहमा छोरो परेको खबरले कृष्ण आकुल व्याकुल भए । कृष्णका दाजु बलराम साथी उद्धवलाई लिएर भतिजो साम्ब छुटाउन हस्तिनापुर पुगे । उनले शालीन भाषामा अनुरोध गरे- ‘हे दुर्योधन ! जवान भएका युवायुवती एकले अर्कालाई मन पराएर बिहे गर्छन् भने त्यो अपराध होइन । उचित अनुचितको भेद उनीहरूलाई राम्रोसँग थाहा छ । अब हामी अभिभावकको कर्तव्य विधिपूर्वक जोडी बाँधिदिनु हो । म यही अनुरोध गर्न तपाईँ समीप आएको हुँ ।’

बलरामको अनुरोध लत्त्याउँदै अभिमानी दुर्योधन कराउन थाल्यो- ‘खुट्टामा पहिरिने जुत्ता शिरमा किमार्थ लगाइन्न । एउटा गरिब भिखारीको छोराले हस्तिनापुर युवराजकी छोरी ताक्ने ? यो असम्भव छ । राजा महाराजको आसनमा बस्ने अधिकार यस्ता भिखारीलाई छैन ।’ दुर्योधनको अपमानजनक वाणीले बलरामलाई क्रोधित बनायो । उनले हस्तिनापुर थर्काउँदै चेतावनी दिए– ‘तैँले मेरो मात्र हैन, सम्पूर्ण यदुवंशीहरुको अपमान गरेको छस् । साम्बलाई बन्दीमुक्त गरी लक्ष्मणासँग बिहे गरिदिन्छस् भने ठिक छ । यदि मेरो बचनको उल्लङ्घन भयो भने याद गर हस्तिनापुर पुरै उल्टाएर सखाप बनाइदिन्छु । तेरो लागि यो पहिलो र अन्तिम मौका हो ।’ बलरामको गर्जनपछि  कौरवहरू आफ्नो साइजमा आए । दुर्योधनले साम्ब मुक्त मात्र गरेन, प्रशस्त दाइजो सहित छोरी लक्ष्मणालाई अघि लगाएर भव्य कार्यक्रम गरी ज्वाइँ सकारेर  पठायो ।

बाम गठबन्धनको त्यो गाँठो अन्ततः दुईवटा पेटी ठेकेदारको ‘भागशान्ति जय नेपाल’ अखडामा अनुवाद भयो । पार्टी एकता ‘झ्वाम्म गठबन्धन’का नाममा इतिहासले लेखो लगाउने छ ।

देशका ठूला दुई मुखिया केपी ओली र पुष्पकमल दाहालको राजनीति लगनगाँठोको प्रस्थान बिन्दु यस्तै कठिन र चुनौतीपूर्ण क्षणबाट शुरु भएर अन्ततः तास महल बन्यो । आफ्नो राजनीतिक जीवनको सबैभन्दा बढी ताली सम्भवतः ओलीले प्रचण्ड विरुद्ध गरेको विषवमनको समर्थनमै खाए होलान् । ओलीविरुद्ध प्रचण्डको कर्कश आवाजभित्र हतासाको अंश अधिक छ । गणतन्त्रको यात्रालाई ‘बयल गाढामा चढेर अमेरिका जाने’ धृष्टता भनेर खिसीटिउरी गरिने पात्र केपी ओली गणतन्त्रका पहरेदार भएका छन् । यो दृश्यभ भनेको बाघलाई मृग पाल्न दिनुजस्तै हो । केपी ओली खुरापात शिरोमणि हुन भने प्रचण्ड कमिसन एजेन्ट हुन् । बाम गठबन्धनको त्यो गाँठो अन्ततः दुईवटा पेटी ठेकेदारको ‘भागशान्ति जय नेपाल’ अखडामा अनुवाद भयो । पार्टी एकता ‘झ्वाम्म गठबन्धन’का नाममा इतिहासले लेखो लगाउने छ ।

राजा महेन्द्र र बिपी नेपालको राजनीतिक इतिहासका त्यस्ता पात्र थिए, जो मन, मुटु र मस्तिष्कबाट मिल्थे । आत्मवृत्तान्त बिपीले राजासँगको निकटता खोल्दै एक ठाउँमा यसरी अन्तरसंवाद उल्लेख गरेका छन्- ‘तपाईँलाई देख्ने बित्तिक्कै हामी कुरा गरिरहेका थियौँ कि नेपालको प्रधानमन्त्री त यही मान्छे हुनसक्छ, जसले बाहिर पनि प्रतिष्ठा राख्न सक्छ । र, देखाउन पनि बाहिर सकिन्छ भने यही मान्छेलाई सकिन्छ भनेर हामी दुई कुरा गरिरहेका थियौँ । तपाईँलाई सिँढीमा देख्ने बित्तिक्कै हामीले त्यो कुरा गरेको । मेरो व्यक्तिगत र निजी पाहुना तपाईँ मात्र हो । अरू सबै सरकारी पाहुना हुन् ।’ सन्दर्भ त्यतिमा मात्र सीमित छैन । रानी तरकारी काट्दै गरेको ठाउँमा आफू फुत्त पस्दा ‘स्वास्नी मानिसहरूको ठाउँमा किन आएको नि’ भनेर रानी रत्नाले प्रतिप्रश्न गरेको सन्दर्भ झिक्दै बिपी रानीको मूल्याङ्कन गर्दै भन्छन्- ‘पिर्कामा बसीकन एउटा मध्यम वर्गकी स्वास्नी मान्छेले  खास्टो त्यो पनि धेरै महँगो होइन, ओढीकन तरकारी काट्ने, केलाउने गरेको मैले देखेको छु । तिनी कुनै ठस्सावाल होइनन् । उनीहरूले मलाई सम्मान दिए, सम्मान मात्रै होइन, स्नेह दिए  । यो एक किसिमको आदर पनि र माया पनि दिए ।’ राजारानीप्रति बिपीको सद्भाव उनको अर्को कृति जेल जर्नलमा आइपुग्दा कटाक्षमा परिणत हुन्छ । उनी बम्किँदै यसरी आगो ओकल्छन्- ‘आफ्नो सजायको पूरा अवधि जेलमा कोचेर पनि सरकारले रिहा गरेन । अन्धाधुन्ध छ यो राज्यमा ।  एकदम बहुलट्ठी लागेको छ राजालाई । राजाको एकतन्त्री हुकुमी शासनको आजकाल बारम्बार प्रमाण नकच्चरो किसिमबाट स्वयं राजाले दिइराखेका छन् । उनको अन्तिम दिन त होइन आएको ?’

त्यो भन्दा अगाडिको एउटा अर्को रोचक प्रसङ्ग छ । साली रत्नासंग प्रेममा फसेको सुइँको पाएपछि त्रिभुवनले महेन्द्रलाई युवराज भएर अनैतिक काम नगर्न दबाब दिए । बाउछोराको गलफती यतिसम्म उत्कर्षमा पुग्यो कि छोरो नल्याई नछोड्ने, अदप नाघेर बिहे गरे युवराजबाट निकाल्ने बाउको चेतावनी । आखिर बिपीले मध्यस्थ गरिदिएर राजा महेन्द्रको बाटो खोलिदिए । युवराज पद पनि जोगियो ।

अहिले त झन् राजनीतिलाई राजनीति गर्ने भन्दा गैर राजनीतिक प्राणीबाट जोगाउनुपर्ने चुनौती छ । समस्या कोट टाई, दौरा सुरुवाल लगाउनेहरूको दृष्टिकोणमा छ । 

एउटा नर्सरी पढ्ने बच्चालाई पनि थाहा छ- यो देशमा महेन्द्र र बिपी एक दशकसम्म मिलिदिएको भए मुलुक उहिल्यै बन्थ्यो । तर उपयोगको राजनीतिक माखेसाङ्लोले यी दुई विराट व्यक्तित्वको जीवन एक नदीको दुई किनार भएर इतिश्री भयो । नियतिले ६ दशकपछि ओली र प्रचण्डलाई लगभग त्यही शक्तिको सेरोफेरोमा ल्याइदियो । एक अर्कालाई धारे हात नलगाई न उनीहरूको दिन शुरु हुन्छ, न रात । उमेरले ६ दशक नाघेका यी दुवै नेताको सिङ, जुरो पलाउने समय सकिएको छ । यो अवसर मेकअपभन्दा ब्रेकअपमा उपयोग हुनु मुलुककै लागि दुर्भाग्य हो । हिजो निन्दावादको स्वर उराल्नेहरू आज कालोझण्डा बोक्न थालिसकेका छन् । थालमा हुँदा त्यही भात भोक मेट्ने अन्न हुन्छ, थालबाट झरेपछि जुठो । विश्वास ऐनाजस्तै हो । नफुटेसम्म सबैथोक राम्रोसँग देखिन्छ, फुटेपछि छरिएका टुक्राहरूको त्रास जिन्दगीभर बिझाइरहन्छ ।

चेपाङ, कुसुन्डा, दनुवारको समस्याले मुलुक थला परेको होइन । न्यायालयमा जानुस् ९० प्रतिशत मुद्दा जग्गासँग सम्बन्धित छ । नजानेको, नबुझेको, नपढेको मुद्दा मामिलाको व्याकरण नै बुझ्दैन । समस्या कोट टाई, दौरा सुरुवाल लगाउनेहरूको दृष्टिकोणमा छ । अहिले त झन् राजनीतिलाई राजनीति गर्ने भन्दा गैर राजनीतिक प्राणीबाट जोगाउनुपर्ने चुनौती छ । कपाल काट्ने हजाम, पशुपतिको बिगुत बोक्ने पुजारी, दूध बोक्ने ग्वाला, पत्रिका ल्याउने हकर, फूल गोड्ने माली, सुरक्षाका लागि खटाइएको अङ्गरक्षक यस्तै अनपेक्षित पात्रबाट राजनीतिका असामान्य खेलकुद हुन थालेका छन् ।

यो जेलमा सुरुङ खनेर निस्किएको भजन गाउने समय होइन । जनयुद्धका पट्यारलाग्दा कथा हालेर मान्छे तान्ने घडी पनि होइन । उत्पीडित, महिला, आदिवासी, जनजाति, महिला, शोषक, सामन्त र  उन्मुक्तिका कुरा गर्नु भनेको त कानमा झिर रोप्नु बराबर हो । २४ घण्टालाई भरपुर उपयोग गर्नुस् । विकास यसरी गर्नुस् कि निदाउने समय सृजनशील बनाउन सक्नुभयो भने एक वर्षमा दुई वर्षको समय सुविधा प्राप्त हुन्छ । सृजनशील मानिसले झारबाट पनि मह बनाउन सक्छ । कामको बदला काम दिनुस् । लिक्वान र महम्मद महाथिरका गुलिया कुरा गरेर फिज काढ्दै भाषण गर्नेहरू युटर्न हुँदै भनुन्- ‘विश्वमा नेता होस् केपी-पीके जस्तो ।’

राजनीति गर्नेहरूले तीनपटक सोच्नुपर्छ- ‘सलामी बढाउने कि मलामी ?’ खादा, अबिर, बधाई, अभिनन्दन, मायाको चिनो हाम्रो सन्दर्भमा यस्ता अलमल हुन, जसले थाहै नपाई हरिभक्तको बैँस समयले खाएजस्तै नेताको औकात सिध्याइदिन्छन् ।

०७ सालमा रानीको उपचारमा खटिएकी नर्स एरिगा ल्यूस्टागले समेत राजाको दूत भएर राजनीतिक परिवर्तनमा साथ दिएकी थिइन् । राजा त्रिभुवनले नर्ससँग निरीह हुँदै भनेका थिए- ‘म नाम मात्रको राजा हुँ । यहाँ राणा परिवारले शासन गर्छ । प्रधानमन्त्री नै राजा हुन । म कैदी हुँ । ताला मारिएको पाँच पाँच ढोकाबाट म थुनिएको छु ।’ राजा त्रिभुवनले तिनै नर्सको माध्यमबाट राणालाई सर्प, राजदूतलाई चरा र चिठ्ठीलाई फूलको  कुट भाषा प्रयोग गरी खबर आदान प्रदान गरेका थिए । जीवनको उत्तरार्द्धमा हरिभक्त कटवाल भन्थे- ‘फूलको थुँगोजस्तो मनपर्ने मेरो बैँस थियो । शहरभरि धेरै उदास अनुहारहरूमा  हाँसो उमार्न खोज्दाखोज्दै त्यो बैँस कहिले कहाँ र कसरी गुमाएँ आफैँलाई थाहा छैन । अब मैले आफैँसँग छ भने पनि कोही पत्याउन चाहँदैन ।’ जुनसुकै मानिसलाई पनि जिन्दगीमा अवसरले एकपटक छोप्छ । त्यो भेललाई कसरी उपयोग गर्ने उसको प्रारब्ध हो । नारायण गोपाल तबलाबादक थिए । कसैले उनको वादनमा हैन, गायनमा जादु छ भनिदिएपछि उनी गायक भए । राजनीति गर्नेहरूले तीनपटक सोच्नुपर्छ- ‘सलामी बढाउने कि मलामी ?’ खादा, अबिर, बधाई, अभिनन्दन, मायाको चिनो हाम्रो सन्दर्भमा यस्ता अलमल हुन, जसले थाहै नपाई हरिभक्तको बैँस समयले खाएजस्तै नेताको औकात सिध्याइदिन्छन् । रुसजस्तो मुलुकमा लेनिनको सालिक मिल्काएर अब्राहम लिंकनको सालिक स्थापना  गरियो । इराकमा सद्दाम हुसेनको सालिक बनाएका शिल्पीहरूले आफ्नै पसिना विरुद्ध जेहाद छेडे । भ्रमको आयु एकदम छोटो हुन्छ । प्रख्यात रुसी संस्कृतिविद् भासिली क्लिउचेस्की भन्छन्- ‘इतिहास आफैँले केही सिकाउँदैन । बरु आफूबाट केही नसिक्नेलाई दण्ड दिन्छ ।’ प्रसङ्ग अघिल्लो कार्यकालको हो । केपी सत्तामा उक्लिनु र शेरबहादुर देउवा झर्नु अघि ‘घामड शेरबहादुर’ नामको फिलिम हलमा लाग्यो । त्यो फिलिमसँग देउवासँग तीन न ते¥ह कुनै साइनो थिएन । बजारमा देउवाको चरम आलोचना भइरहँदा लागेको त्यो सिनेमा शेरबहादुर नाम भएकै कारण पानी पिउन पाएन भन्ने समीक्षकहरूको ठम्याइ छ । हाम्रो समाजमा राजनीतिको सामर्थ्य यसले पुष्टि गर्छ ।

एक समय थियो– इटलीको मिलान शहरमा मुसोलिनीको साधारणभन्दा साधारण  कार्यक्रममा लाखौँको भीड जुट्थ्यो । मुसोलिनी जता जान्थे, भीड त्यतै लाग्थ्यो । मानौँ, उठ भने उठ, बस भने बस जस्तै । लाखौँ युवाहरू सडकमा उत्रिएर ‘ड्यूचे ! ड्यूचे ! ! ड्यूचे ! ! !’ नारा लगाउँथे । मुसोलिनी त्यतिबेला ईश्वरको अवतार मानिन्थे । पाँच वर्षपछि मर्न तयार लाखौँको भीड मुसोलिनी विरुद्ध यसरी उत्रियो कि उनी र प्रेमिकालाई बिच सडकमा उल्टो झुन्ड्याएर  लाखौँ लाखले थुके । पूजा हुने मानिसको नभएर कीर्तिको हो । यी सबैको निष्कर्ष दुईचार दर्जन धुपौरे अगाडि पछाडि राखेर भगवान् भएको भ्रममा परियो भने अरूलाई खेदेको दिनले नेताहरूलाई पनि खेद्छ । सुत्नुअघि दिनमा एकपटक पूर्वराजा ज्ञानेन्द्रको अनुहार सम्झिनुस् । बुद्धि नपुग्दा एउटा राजाको हविगत त त्यस्तो भयो भने त्यो तुलनामा तपाईँहरूको अस्तित्व के नै छ र ? याद राख्नुस्– साँझमा बालिएको दियो हावाका कारण मात्र निभ्दैन, तेल सकिएर पनि निभ्छ ।

©[email protected]

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *