सीके राउतका कार्यकर्ताहरूद्वारा जनकपुर उपमहानगरपालिका कार्यालयमा तोडफोड

काठमाडौँ । सीके राउत नेतृत्वको जनमत पार्टीले जनकपुरमा प्रदर्शन गरेको छ । सोमबार (आज) पार्टीका कार्यकर्ताहरूले प्रदर्शन गर्दै जनकपुरधाम उपमहानगरपालिका कार्यालयमा तोडफोड र तालाबन्दीसमेत गरेका छन् ।

बिग्रेका सडकहहरू मर्मत नगरेको भन्दै प्रदर्शन गर्दै उपमहानगरपालिका कार्यालय पुगेका उनीहरूले तोडफोड गरेका हुन् । उनीहरुले नगरप्रमुख लालकिशोर साहको कार्यकक्षमा तालाबन्दी गरेका छन् ।

नगर प्रमुखको कार्यकक्षमा तालाबन्दी गर्न गइरहेका पार्टीका कार्यकर्ताहरूलाई सुरक्षाकर्मीले रोकेका थिए । त्यसपछि आक्रोशित भएका उनीहरूले न्यायिक समितिमा तोडफोड गर्दै उपमहानगरपालिका कार्यालयको प्यासेजमा राखिएको गमलासमेत फोडेको एक कर्मचारीले बताए ।

जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सीके राउतले जनकपुरधाम उपमहानगरपालिका–८ बलुवा टोलस्थित हिलाम्मे बनेको सडक मर्मत गराउन जनप्रतिनिधिले चासो नदेखाएको आक्रोश सामाजिक सञ्जालमा पोखेका थिए । त्यसपछि उनका कार्यकर्ता आन्दोलित बनेका हुन् ।

जनकपुरधाम उपमहानगरपालिका कार्यालयमा तोडफोड र तालाबन्दी गर्नुअघि पार्टीका कार्यकर्ताहरू जनकपुरधाम–८ स्थित खानेपानी तथा ढल व्यवस्थापन विभागमा पनि तालाबन्दी गरेका थिए ।

ढल निर्माणका लागि ठेकेदारले सडकमा खाल्डो खनेको छ । खाल्डो खनेको महिनौं बितिसक्दा पनि काम अगाडि नबढाउँदा अहिले सडक अवरुद्ध बनेको डा. राउतले सामाजिक सञ्जालमा गुनासो पोखेका छन् ।

जनकपुरधाम उपमहानगरपालिका र खानेपानी विभागले आफ्नो निवासको दुइतिरै खनेर एक हप्तादेखि बाटो अवरूद्ध गरेको हुनाले हरेक सोमबार पार्टी सचिवालयमा हुने ‘खुला भेटघाट’ कार्यक्रम स्थगित गरिएको अध्यक्ष डा. राउतले बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *