मन्त्रिपरिषद् आजै विस्तार गर्ने तयारी, को-को छन् मन्त्री बन्ने दौडमा ?

काठमाडौँ । प्रधान मन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् । प्रधान मन्त्री देउवाले आजै पूर्णता दिने तयारी गरेको सत्ता साझेदार दलका नेताहरूले दाबी गरेका छन् । आफ्नो नेतृत्वमा सरकार बनेको अढाई महिना बित्दासमेत मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेपछि देउवा सरकारको आलोचना शुरू भएको छ ।

सत्ता साझेदार दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बुद्धिजीवी संगठनको कार्यक्रममा बोल्दै मन्त्रिपरिषद्लाई आजै टुङ्ग्याउने कसरत भइरहेको बताएका थिए । आज शपथ नभए पनि मन्त्रिको नाम भने टुङ्ग्याउने प्रचण्डको भनाइ थियो । नेकपा (एकीकृत समाजवादी) को कोटाबाट मन्त्री बन्नेको सूचीमा रहेका नेता मेटमणि चौधरीले पनि मन्त्रिपरिषद् आजै टुङ्गिने दाबी गरे । ‘नेताज्यूहरूले आजै टुङ्ग्याने कोशिस गर्दै हुनुहुन्छ,’ नेता चौधरीले भने, ‘शपथ नभए पनि मन्त्रिपरिषद्का सदस्यहरूको सूची भने तयार हुन सक्छ ।’

गठबन्धनका दलका नेताहरूले पटक–पटक ‘मन्त्रिपरिषद् विस्तार चाँडै हुन्छ’ भनेपनि आजसम्म हुन सकेको छैन । एकीकृत समाजवादीबाट मन्त्री बन्ने सम्भावना भएका भनिएका नेता भवानीप्रसाद खापुङ भन्छन्, ‘त्यस्तै सुनिएको छ । तर, अहिलेसम्म थप कुरा आएको छैन । सम्भवतः तयारी भइरहेको होला । छलफल चलिरहेको होला ।’

मन्त्रीको दौडमा छन् यी नेताहरूः

अहिले सरकारमा कांग्रेस र माओवादी मात्रै सहभागी छन् । प्रधान मन्त्री देउवाको नेतृत्वमा सरकारमा कांग्रेसकै बालकृष्ण खाण र ज्ञानेन्द्रबहादुर कार्कीसँगै राज्यमन्त्री उमेश श्रेष्ठ राज्यमन्त्री छन् भने माओवादीबाट जनार्दन शर्मा र पम्फा भुसाल मन्त्री छन् ।

कांग्रेसबाट पुष्पा भुसाल, डिला संग्रौला, उमाकान्त चौधरी, देवेन्द्रराज कँडेल, भरत शाह, मिनेन्द्र रिजाल, दिलेन्द्र बडुलगायतबाटै मन्त्री बनाउने तयारी छ ।
उपप्रधान मन्त्री पाउने अवस्था भए महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र सुजाता कोइराला पनि मन्त्री बन्नसक्ने सम्भावना छ । तर, प्रधान मन्त्री देउवा, इतर समूहलाई उपप्रधान मन्त्री दिन सकारात्मक देखिएका छैनन् ।

यस्तै माओवादी केन्द्रबाट मन्त्री बन्ने सूचीमा हरिबोल गजुरेल, देवेन्द्र पौडेल, देव गुरुङलगायतका नेताहरू छन् । अध्यक्ष प्रचण्डले समुदाय र भूगोलसमेतलाई मिलाएर मन्त्री बनाउन लागेको नेता मातृकाप्रसाद यादव बताउँछन् । यादव पनि मन्त्री बन्ने चर्चा छ ।

यस्तै अमनलाल मोदी र शिवकुमार मण्डल, जयपुरी घर्ती, अञ्जना विशंखे, शशी श्रेष्ठ, सुदन किराँती, सन्तकुमार थारु, महेश्वर गहतराजमध्येमा ३ जना मन्त्री बन्नेछन् ।
जनता समाजवादी पार्टी (जसपा) बाट महेन्द्र राय यादव, रेणु यादव, मोहम्मद ईस्तियाक राईलगायत मन्त्री बन्ने चर्चा छ । यस्तै, महन्थ ठाकुरको साथ छोडेका प्रमोद साह, अमृता अग्रहरि, रानी मण्डल, नरमाया ढकाल, रुही नाजमध्येमा दुईजना मन्त्री बन्ने बताइएको छ ।

यता नेकपा (एकीकृत समाजवादी) बाट सांसदहरू विरोध खतिवडा, रामकुमारी झाँक्री, मेटमणि चौधरी, प्रेम आले, भवानी खापुङ र जीवनराम श्रेष्ठ मन्त्री बन्ने पक्काजस्तै छ । यही सूची प्रधानमन्त्रीकहाँ पुगेको नेता चौधरी बताउँछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *