एमाले विधान महाधिवेशन

समूहगत रिपोर्टिङ्ग सकियो, प्रतिनिधिको पश्नको जवाफ दिँदै ओली

काठमाडौँ । गत शुक्रबारबाट शुरू भएको प्रथम एमाले विधान महाधिवेशन आज सकिँदैछ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले तीनवटै प्रस्तावमाथि उठेका प्रश्नहरूको जवाफ दिएपछि महाधिवेशन आजै सकिँदैछ ।

ललितपुरको गोदावरी सम्मेलन केन्द्रमा चलिरहेको महाधिवेशनमा समूहगत रिपोर्टिङ्ग सकिएको छ । अब यसपछि अध्यक्ष ओलीको समसामयिक ब्रिफिङ्गसँगै जवाफ दिँदैछन् । नेता विशाल भट्टराईकाअनुसार राजनीति, सांगठनिक र विधान संशोधन प्रतिवेदनमाथिको समूहगत छलफल सकिएको छ ।

नेता भट्टराईकाअनुसार बिहान प्रदेश नं. १, प्रदेश नं. २ र गण्डकी प्रदेशका साथै जनवर्गीय संगठनका समूहका नेताहरूले आ–आफ्नो समूहको छलफलको निष्कर्ष सुनाएका थिए । योसँगै समूहगत छलफलको रिपोर्टिङ्ग सकिएको हो ।

प्रदेश नं. १ बाट देवराज घिमिरे, २ बाट ज्वाला साह र गण्डकी प्रदेशको समूहबाट जगतबहादुर विश्वकर्माले समूहको निष्कर्ष सुनाए । त्यस्तै, जनवर्गीय संगठनको तर्फबाट अनेरास्ववियूकी अध्यक्ष सुनिता बरालले समूह छलफलको रिपोर्टिङ्ग गरेकी थिइन् ।

अहिले प्रतिनिधिहरूले बिहानको खाना खाइरहेका छन् । खानालगत्तै प्रतिनिधिहरूले उठाएका प्रशनहरूको जवाफ अध्यक्ष ओलीले दिने नेता भट्टराईले बताए । उनले भने, ‘यससँगै विधान महाधिवेशन सकिन्छ ।’

दोस्रो दिन हिजो १० वटा समूहमा तीनवटै प्रतिवेदनमाथि छलफल भएको थियो । छलफलका क्रममा अधिकांशले उपाध्यक्षको संख्या ७ हुनुपर्ने र उपमहासचिव तथा पोलिटब्यूरो कायम रहनुपर्नेसँगै पार्टी व्यक्ति नभइ संस्थाकेन्द्रित हुनुपर्ने सुझाव दिएका थिए । यस्तै समूहका कतिपय नेताहरूले पार्टीमा एक पदको नीति लागू गर्न नेतृत्वलाई सुझाव दिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *