विद्यार्थी नेतृत्व छान्ने जिम्मा पनि प्रचण्डलाई

काठमाडौँ । शनिवार (आज) बसेको माओवादी स्थायी समिति बैठकले विद्यार्थी नेतृत्व छान्न सकेन । मन्त्री र विद्यार्थी नेतृत्वको टुङ्गो लगाउने भन्दै पार्टी मुख्यालय पेरिसडाँडा, कोटेश्वरमा बसेको बैठक निष्कर्षविहीन नै उठ्यो । बैठकले विद्यार्थी नेतृत्व छान्ने जिम्मा पनि मन्त्री छान्न जिम्मा पाएका पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नै दिएको छ ।

बैठकपछि प्रवक्ता कृष्णबहादुर महराले विद्यार्थीको नेतृत्वबारे छलफल भएपनि निष्कर्षमा पुग्न नसकिएको बताए । ‘आजको बैठकमा भ्रातृ संगठन अखिल क्रान्तिकारीको अध्यक्षबारे छलफल भयो,’ प्रवक्ता महराले भने, ‘तर अध्यक्षका दाबेदारहरू उत्तिकै क्षमतावान् भएकाले एउटा नाममा टुङ्ग्याउन सकिएन । यसपछि यसको जिम्मा अध्यक्षलाई नै दिइएको छ ।’

माओवादीले सम्भावित नाम टुङ्गो नलगाए पनि राजधानीमा जारी अनेरास्ववियू (क्रान्तिकारी) काे २२औं सम्मेलनले तल्लो तहको नेतृत्वको भने टुङ्गो लगाइरहेको छ । अनेरास्ववियूको नयाँ अध्यक्षका लागि सुरेन्द्र बस्नेत र पञ्चा सिंह प्रतिस्पर्धामा देखिएका छन् । बस्नेत अहिले वरिष्ठ उपाध्यक्षको भूमिका छन् भने सिंह उपाध्यक्षको जिम्मेवारीमा छन् ।

यी दुईबाहेक उपाध्यक्षहरू तिलकराज भण्डारी, दीपक देवकोटा र विजय गौतमसँगै महासचिव उत्तम अधिकारीसमेत अध्यक्षको प्रतिस्पर्धामा छन् । एक स्थायी समिति सदस्यले भने, ‘यसरी बढी नै आकांक्षी देखिएपछि समस्या भयो । यसको टुङ्गो अध्यक्षले नै लगाउनुपर्ने भएरै यसो गरिएको हो ।’ यसअघि अनेरास्ववियूको नेतृत्वकाे दाैडमा रहेकाहरूसँग प्रचण्डले छलफल गरिसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *