किरात धर्मसँग थामी समुदायको ऐतिहासिक सम्बन्ध र आधार

कथ्य प्रमाण भए पनि लेख्य प्रमाण निक्कै कम भेटिएका थामी जाति आफूलाई किराती भन्न रुचाउँछन् । पृथक सभ्यताको जननी थामी जातिभित्र रहेको संस्कार, संस्कृति, भाषा तथा पुस्ता हस्तान्तरण हुँदै आएका किंवदन्तीको विश्लेषण गर्दा थामी जाति किराँती नै हुन् भन्ने प्रमाण भेटाउन सकिन्छ । ती प्रमाण पेश गर्नुभन्दा अघि किराँतीबारे बुझ्न जरुरी देखिन्छ ।

को हुन् किराती ?
इतिहासकार इमानसिंह चेम्जोङ : किरात शब्दको उत्पति भूमध्यसागरीय क्षेत्रमा बोलिने आवाइट भाषाको किरियत शब्दबाट भएको हो । यसको अर्थ हुन्छ, किल्ला‚ अथवा शहर । रहँदा‚ बस्दा उनीहरूको संख्या बढ्दै गयो, सँगै किल्ला र शहर पनि बढ्दै गए । त्यसलाई पछि किरियत हिम भनियो । कालान्तरमा उनीहरूलाई नै किराती भनियो र पछि उनीहरू किराती वंशका नामले प्रशिद्ध भए । – Chemjong the history and culture of Kirat People.

दुर्गाहाङ याखा राई – ५०० इं.तिर लेखिएको भगवतमा शठ (स्वाँठ, मूर्ख) किरात भनिएको छ । त्यसैले किरात शब्द आदरार्थी होइन, यसलाई असभ्य र जङ्गली अर्थको रुपमा प्रयोग भएको पनि भनिएको छ । कसैले कैलाश-पर्वत हिमश्रृङखलाहरू भएको अतिशुद्ध पवित्र सत्य-भूमिलाई किरात भनिएको हो भनेका छन् । किरात मुन्धुमी भाषा काइ+लाशोको अर्थ हुन्छ- नाता सम्बन्ध + पवित्र आसन । त्यस बेलाका मनिसहरूले हिमाललाई सर्वोच्च आत्मा-परमात्मा बस्ने पवित्र स्थान भनी काइलाशो‚ अर्थात् शैलाख भन्दथे । यही काइलाशो शब्द अपभ्रंश हुँदै काइलाशी, काइलाती, कैराती वा किरात भएको हो । यही पवित्र ठाउँमा जन्मे/हुर्केका, फैलिएका मानव जातिलाई किरात भनियो । -(ब्राह्मणवादविरुद्ध जनजाति उत्पीडितवर्ग पृष्ठ संख्या- २०१)

जोन हेमिल्टन : ई. पूर्व ४००० वर्षअघि पर्सिया खाडीको उत्तरी समतल भूमिमा दुईवटा सभ्य जाति बस्थे । उत्तरी मैदानमा बस्नेलाई अकार वंशु र दक्षिणी मैदानमा बस्नेलाई सौमर जाति भनिथ्यो । सौमर जाति मंगोश वंशी हुन् । उनीहरूको एक जमात ई. पूर्व ३००० मा पूर्वतर्फ आए र चीन राज्य स्थापना गरे । पछि यसको एक शाखा छुट्टिए । उनीहरू काबुल पाजाब हुँदै गंगा नदीको मैदानमा आई बसोबास गर्न थाले । कयौँ पुस्तापछि आर्यहरूले यिनै सौमर‚ अर्थात् मङ्गोल वंशलाई किरात वंश भन्न लागे ।

ब्रायन हड्सन-किरातहरूको राज्य थियो । उनीहरुको शासनकालमा अधिकार क्षेत्र गङ्गा नदीको मैदानसम्म फैलिएको थियो । हिन्दू धर्मशास्त्र योगिनी तन्त्र किरातको उत्पति काबुलको उत्तर दिशामा रहेको कुशदीपमा भएको हो भन्दछ । त्यहाँबाट बसाइ सरी आएकी कङ्कती नाउँकी एक सुन्दरी कन्यासँग महादेवको सहवास भयो । संसर्गबाट पछि एक पुत्र लाभ भयो । उनको नाम किरात राखियो । उनैको सन्तान किरात वंशले प्रशिद्ध भए ।

दुर्गाहाङ याखा राई : किरात शब्द फारसी भाषाको अपभ्रंश रूप हो पनि भन्नेहरू छन् । यो भाषामा पहाडलाई कोह र मालालाई लतिका भनिन्छ । पछि त्यसलाई कहलात, कलात भनियो । त्यसैले आजको सिन्धु नदीदेखि ब्रह्मपुत्र नदीसम्मको हिमश्रृङ्खलालाई कलात भनियो । यहीँका बसिन्दा‚ अर्थात् कलातबासीलाई कलाती, कैलाती, शब्द अपभ्रंश हुँदै किराती वा किरात भनियो । -(ब्राह्मणवादविरुद्ध जनजाति उत्पीडितवर्ग पृष्ठ संख्या- २०१)

डा. स्वामी प्रपन्नाचार्य : संस्कृत शब्द : ‘किरु’को अर्थ समुन्द्रपर्यन्त भू-भाग हो भने अतु शब्दको अर्थ निरन्तर गमन गर्नु हो । त्यसो हुँदा नेपालदेखि समुन्द्रसम्मको भू-भागमा निरन्तर गएर पराक्रमले जितेर शासन गर्ने नै किराती हुन् ।

अन्य अनुसन्धानकर्ताहरूको खोजहरूले किरातीहरू छुट्टाछुट्टै तीन जातिको सम्मिश्रणबाट उत्पति भएको बुझाउँछ । इतिहासमा जसलाई खाम्बोङ्वा (खाम्बिवान्सा या खम्बुस), ताङसाङथा (तै सन्थास वा मंगोल), र मुनाफेन (मुनाफिन या चैनी खम्बुश) हरु भनेर चिनिन्छ । सोधकर्ताहरुका अनुसार खम्बुश हिमालय क्षेत्रका अग्रज आप्रवासी हुन् । थानवास अर्थात् मंगोलहरू र मुनफेहरू चाइनिज जाति नश्लकाहरू पछि आएका हुन् । यिनीहरूको सम्मिश्रणबाट ठुलो मानव समूह बन्यो । जसलाई समग्रमा किरात भनियो ।

स्वदेशी तथा विदेशी अनुसन्धान कर्ताहरूको यी भनाइबाट के पुष्टि हुन्छ भने वर्तमान नेपालका किरातीहरूको इतिहास फगत लहड र तर्कको भरमा उल्लेख भएको होइन । यसको आफ्नै पहिचान छ, अर्थ छ । समय सीमा पनि यसको त्यतिकै प्राचीन छन्, जति समग्रता मानव सभ्यताको छ । वर्तमानमा नेपालका आदीवासीमात्रै किराती भनेर परिचित हुन चाहे पनि यसको क्षेत्र निक्कै फराकिलो देखिन्छ । तर यहाँ उल्लेख गर्न खोजिएको विषय थामी जाति र किरातीसँग उनीहरुको सम्बन्ध हो ।

किराती वंश आजका थामी
वर्तमान समाजमा बाबु र छोराबीचको नाता प्रमाणित गर्ने दरिलो आधार भनेको नागरिकता हो । दुनियाँले फलानो बाबु र फलानो छोरा हो भनी मान्दै आएपनि नागरिकता बिना त्यसले वैधता पाउन सक्दैन । यस्तै स्थितिबाट गुज्रिरहेका छन् आजका थामी जाति । थामी जाति किराती हुन्, परिचित गराउँदा पनि किराती नै भन्न रुचाउँछन् उनीहरू, त्यतिमात्रै होइन, दुनियाँले समेत उनीहरुलाई किराती नै भन्छन्, र हुन् पनि । तर यसको ठोस प्रमाण ठ्याक्कै यही हो भन्ने अहिलेसम्म फेला परेका छैनन् । निक्कै सीमित खोज तथा अनुसन्धान भएका छन् थामी जातिको इतिहासका बारेमा ।

त्यसैले थामी जाति किराती हुन भन्ने दरिलो प्रमाण नभेटिएको हुनसक्छ । थामी जाति किरातीहरू नै हुन भन्ने अहिलेसम्म भेटिएका जति पनि प्रमाणहरू छन्, ती सबै किराती नश्लका अन्य जातिसँग रहेका सांस्कृतिक पक्ष, ऐतिहासिक पक्ष, विभिन्न किंवदन्तीहरूको तुलनाबाट बाहिर आएका छन् । यद्यपी थामी जाति किराती नै हुन भन्ने पुष्टि गर्न तीनै सांस्कृतिक पक्ष, ऐतिहासिक पक्ष, विभिन्न किंवदन्तीहरू विश्लेषणको अलावा अन्य विकल्प पनि छैन ।

  • थामी जाति किराती हुन् भन्ने आधारहरू

सोधकर्ताका लेखबाट
डा. डिल्लीराम दाहाल- किरातीहरू किराती भएर पनि आफूलाई कमैले किराती भन्न रुचाउँछन् । थामी र हायू समुदायले पनि आफूलाई किराती भन्न रुचाउँछन् । थामी जातिमा १४.६ प्रतिशत र हायु समुदायमा २९.१० प्रतिशतले मात्रै आफूलाई किराती भनी उल्लेख गरेका छन् । -Source CBS Nepal, 2001, census- social composition of the population: caste/Ethnicity and religion of Nepal) इतिहासविद् जी.पी. सिंह (सन् १९९०)- नेपालका राई, लिम्बू, याक्खा, सुनुवार, धिमाल, तामाङ, लेप्चा, कोचे, मेचे, राजवंशी, थारु, दनुवार, जिरेल, सुरेल, थामी, हायू, राजी, मगर, गुरुङ र नेवारलाई किरात हुन् ।

सोभियत खोजकर्ता डा. सेटेन्कोसहितको टोली-बुढानिलकण्ठमा भएको उत्खनन-अध्ययन प्रतिवेदनका भेटिएअनुसार नेपालको पूर्वीउत्तरबाट प्रवेश गरेका राई, लिम्बू, याक्खा, सुनुवार, सुरेल, जिरेल, थामी, हायू, दनुवार र धिमाल किरात हुन् ।

डा. हर्क गुरुङ : मानवीय समूहको चरित्रका कारण मानव सुमदाय इतिहासको कुनै कालखण्डमा किरात थिए । नेपालको परिप्रेक्ष्यमा सांस्कृतिक, भौगोलिक र मनोवैज्ञानिक रुपमा आफूलाई किरात भनेर गर्व गर्ने राई, लिम्बु, सुनुवार, याक्खा, धिमाल, दनुवार, जिरेल, थामी र हायूलाई पनि किरात भनेर चिन्नुपर्दछ । -(आदिवासी जनजाति सेरोफेरो)

धर्मरत्न यमी : हिमालयका विभिन्न क्षेत्रमा बसोबास गर्ने मगर, गुरुङ, कुसुण्डा, खस, लिम्बू, खम्बू, तामाङ, चेपाङ, धामी (थामी), भिस्सा, न्यानो, नोहाङ, नेवार इत्यादिको बोलचालबाट थाहा हुन्छ यी जनसमुदाय किरात जातिका हुन् ।

पृथ्वीनारायण शाह – राज्य एकीकरणका बेला पृथ्वीनारण शाहले किरातीहरू विभिन्न प्रजाति समूहमा विभाजन गरेको देखिन्छ । यसरी विभाजित किराती जातिको किराती प्रजातीय समूह यस प्रकार छन् : (राई, लिम्बु, लोहोरुङ, याम्फू, मेवाहाङ, सुनुवार, धिमाल, मेचे, थामी, लेप्चा,सुरेल, जिरेल, याक्खा, हायु र आठपहरिया आदि हुन् । (संवत १८३१ मा पूर्वी पहाडी भू-भागका किरातीहरूलाई गरिदिएको लालमोहरमा आधारित)

भाषागत आधार
भाषागत आधारबाट थामी जाति किराती हुन भन्ने पुष्टि गर्न बराम जातिमा गरिएको अध्ययन अनुसन्धानलाई बुझ्नुपर्ने हुन्छ । बराम जातिका सोधकर्ता हड्सनले आफ्नो पुस्तकर अन हिमालयन आन्थ्रोपोलोजीमा बराम र थामी जातिको भाषाबीच सम्बन्ध रहेको बताएका छन् । अर्का सोधकर्ता माईकल विट्जेलले पनि हड्सनकै भनाइलाई पुष्टि गर्दै भनेका छन्‚ ‘थामी र बराम जाति बराम जाति पश्चिमको हुम्लाबाट आएका हुन् ।’

त्यस्तै सोधकर्ता स्टेन कोनोवले अर्का सोध कर्ता गियर्सनको अनुसन्धानलाई साभार गर्दै थामी र बराम जाति एउटै शाखामा वर्गीकरण गरेको छन् र भनेका छन्‚ ‘दुवै भाषा भोट बर्मेली भाषा परिवारको पूर्वी उपशाखा हुन् ।’ उनले थामी जातिलाई बराम, धिमाल, याक्खा, लिम्वूसँग भाषिक समानता रहेको बताएका छन् । अर्का अनुसन्धान कर्ता रोवर्ट शेफरले थामी र बराम जातिको वंशाणुगत सम्बन्धलाई नै योजनावद्ध रुपले भाषिक समानताहरू प्रस्तुत गरेका छन् ।

यी तथ्यबाट के पुष्टि हुन्छ भने थामी र बराम भाषाबीच समानता छ । साथै थामी भाषा धिमाल, याक्खा र लिम्बूसँग पनि मिल्छ । भाषा मिल्नु संयोग होइन, यसको विशिष्ट अर्थ छ । इतिहास छ । इतिहासले पुष्टि गरिसकेको छ कि बराम, धिमाल, याक्खा र लिम्बू किराती हुन् । यस अर्थ थामी जाति पनि किराती नै हुन् । अधिकांश भोट-बर्मेली भाषा अन्तर्गत पर्ने जाति किरातीको सर्वसिद्ध भइसकेको छ । थामी भाषा पनि यही परिवारको भएकाले थामी जाति किराती हुन् ।

संस्कार तथा सांस्कृतिक आधार
थामी जाति मूलतः प्राकृतिक पूजक हुन् । प्रकृतिलाई नै उनीहरू सृष्टिकर्ता, पालनकर्ता र संहारकर्ता मान्छन् । त्यसैले उनीहरू आगो, घाम, हावा पानी, ढुङ्गा माटो, वन जङ्गल आदिलाई पूजा गर्दछन् । थामीहरूको प्रमुख चाडपर्व उधौली, उभौली, मङ्सिरे पूर्णिमा, साउने सङ्क्रान्ति, माघे सङ्क्रान्ति, दशैँ, भाइटिका आदि हुन् । थामी जातिहरू उभौलीका रूपमा भूमि पूजा गर्छन्‚ जुन जेठमा पर्छ । त्यस्तै उद्यौलीको रूपमा पनि भूमि पूजा नै गर्छन् । त्यो पर्व मङ्सिर महिनामा पर्छ । साकेला, उभौली अर्थात् जेठमा मानिने भूमि पूजा मूलतः नयाँ अन्न बाली लगाउने समय पर्दछ । यस बेला थामी जातिले प्रकृति अर्थात् भूमिलाई पूजा गरी बालीनाली सप्रियोस्, साल समय राम्रो होस, रोग नलागोस् भनेर सबैको कल्याणको कामना गर्दै देवी देवताको थान थपना गरी देवी थानमा पूजा गरिन्छ । ‘सहः केला’ (थामी भाषामा सह आओस् अर्थात् घरमा सह भित्रियोस्) साकेला उद्योगी अर्थात् मङ्सिर मा गरिने पूजा नयाँ अन्नबाली घरमा हुलेर चुलोमा पितृहरूलाई चढाई आंशिक मागेर दर दाजुभाइ जम्मा भई नयाँ बाली खाने चाड हो ।

थामी जातिले मान्ने यिनै पर्व किराँती समुदायका राई, लिम्बूहरूले पनि मनाउँछन् । प्रकृति पूजक भएकाले उनीहरूले पनि भूमि पूजा गर्छन् । वैशाख र जेठमा मनाइने उभौली र मङ्सिर मा मनाइले उद्यौली पर्व प्रकृति पूजा अर्थात् भूमि पूजाकै एक रूप हो । यो बाहेक उनीहरू पनि साउने सङ्क्रान्ति, माघे क्रान्ति, भाइटिका जस्ता पर्व मान्छन् ।

एक जातिले मान्दै आएको संस्कार संस्कृतिको कुनै एक पक्ष अर्को जातिको संस्कार संस्कृतिसँग मेल खानु संयोग हुन सक्छ । तर हुबहु जस्तै गरी मिल्न जानुलाई संयोग मात्रै भन्न मिल्दैन । यस्तै स्थिति देखिन्छ, राई, लिम्बू र थामीले मान्ने गरेको संस्कार संस्कृतिबीच । त्यसैले यी जातिबीच ऐतिहासिक निकटता छ । कतिपय थामी अग्रजहरूले मात्रै होइनन्, राई, लिम्बूका अनुसन्धान कर्ताहरूले समेत भनी सकेका छन्, राई, लिम्बू र थामीको वंशज एउटै हुन् । केही विद्धानहरूले अझ अघि बढेर राई, लिम्बू र थामी एउटै बाबुका तीन दाजु भाइ हुन समेत भनेका छन् ।

राई, लिम्बु र थामी दाजुभाइ हुन भन्ने तथ्य कति सत्य हुन् त्यो खोजीको विषय होला । तर यहाँ केही चाहिँ ठोकुवाका साथ भन्न सकिन्छ भने यी तिन वटै जातिको ऐतिहासिक पृष्ठभूमि एउटै हो । र न उनीहरूले मान्ने गरेका संस्कार संस्कृति एक आपसमा मिल्न गयो । यसर्थ नेपालका राई, लिम्बू किराँत हुन भने थामी जाति पनि किराँत हुन् ।

प्रचलित किंवदन्ती
इतिहासकार इमानसिंह चेम्जोङले ब्रह्माण्ड मानव उत्पत्तिका बारेमा रोचक प्रसङ्ग अघि सारेका छन् । चेम्जोङका प्रसङ्ग मिथक जस्तो लागे पनि लहडका भरमा अघि सारिएको होइन । गहन अध्ययन र विश्लेषणपछि मात्रै ती प्रसङ्ग अघि सारेका हुन् । त्यसको मुख्य आधार राई र लिम्बूहरू धर्म संस्कृति हो । चेम्जोङले ब्रह्माण्ड मानव सृष्टिका जुन प्रसङ्ग अघि सारेका छन्, ती प्रसङ्ग थामी धर्म संस्कृतसँग ठ्याक्कै मिल्छ । जसको संक्षिप्त पाटोलाई यहाँ राखिएको छ ।

ब्रह्माण्ड मानव सृष्टि बारे चेम्जोङले अघि सारेका प्रसङ्ग
-ब्रह्माण्ड मानव सृष्टिका लागि अनेक प्रयास गर्दा असफल भएपछि अन्तिममा कुखुरा (पन्छी) को सुली र मालिङगाको खरानी सितमा मुछी मूर्ति बनाइयो । मूर्ति मानव आकृतिको थियो । बोलाउँदा बोलेपछि अन्तत: उसैलाई मानव संज्ञा दिइयो । यही प्रसङ्गलाई जोड दिँदै उनले किरात मुन्धुम् (किरातको वेद) मा उल्लेख गरेका छन् । मालिङगो र देव निगालोको खरानीलाई पहेँलो माटोमा मिसाइ रुख र ढुङ्गाको टोड्कामा जमेको पानीमा मुछेर मान्छेको मूर्ति बनाएर सास हालिदिएपछि ब्रह्माण्ड मानव सृष्टि भयो ।

ब्रह्माण्ड मानव सृष्टि बारे थामी धर्म संस्कृतिमा प्रचलित प्रसङ्ग
-सृष्टिकलामा छत्रपाति राजा र छत्रपति रानीको हुकुमले मानव जातिको विकास उत्पत्ति भयो भएको हो । मानव सृष्टि गर्दा सुनचाँदीको सम्मिश्रणबाट बनायो तर बोलेन । पछि झ्यासको सम्मिश्रणबाट बनायो त्यो पनि बोलेन । हुक्का चिलिमको खरानीबाट मानव बनाइयो त्यो पनि बोलेन । केही सिप नलागेपछि राक्षस पोलेको खरानी र कुखुराको सुलीबाट मानव बनाइयो, त्यो भने बोल्यो । खरानी र कुखुराको सुलीबाट बनाइएको त्यही मानवका सन्तान नै आजका थामी हुन् ।

चेम्जोङले अघि सारेका प्रसङ्ग राई, लिम्बूको धर्म संस्कृतिसँग आधारित छन् । थामी जातिमा प्रचलित प्रसङ्ग पनि थामी जातिको धर्म संस्कृति (सुचिपालोके) सँग सम्वन्धित छन् । यहाँ के देखिन्छ भने ब्रह्माण्ड मानव सृष्टि बारे राई र लिम्बूको धर्म संस्कृतिमा प्रचलित धारणा र थामी जातिको धर्म संस्कृतिमा वर्णन गरिएको मानव सृष्टिको प्रसङ्ग मिल्न जान्छ । यी प्रसङ्गले के पुष्टि गर्छ भने इतिहासको कुनै कालखण्डमा राई, लिम्बूभित्रका मानव समुदाय र अहिलेका थामी जातिको नस्ल एउटै थिए । उनीहरू एउटै सामाजिक वृत्तमा बस्थे । उनीहरूको रहनसहन एउटै थियो र धर्म संस्कृति पनि एउटै थियो । त्यो धर्म भनेको किराँत हो । त्यसैले थामी जाति किराँती हुन् ।

इतिहासका केही वास्तविक पाटो
इतिहासकार इमानसिंह चेम्जोङलपे आफ्नो पुस्तक ‘किराँती जातिको इतिहास र संस्कृति’ (चौथो संस्करण) मा सुनुवार जातिको सम्बन्धमा वर्णन गर्ने क्रममा तिब्बतबाट नेपालमा तीन समूह प्रवेश गरेको उल्लेख गरेका छन् । पहिलो समूह तिब्बतबाट काश्मीर, पन्जाब विहार हुँदै सिमाङग गढ (हाल स्रिमौन गढ) क्षेत्र पुगे । उनीहरू त्यहाँबाट पुन मध्य नेपालमा प्रवेश गर्ने गर्दै हाल दोलखामा पर्ने जिरी खोला र सुरी खोलाको दोभान हुँदै जङ्गल फडानी गरी बस्ने पुगे । कालान्तरमा उनीहरू मध्ये सिरी खोलाको दोभान हुँदै अवाद गर्नेलाई सुरेल भनियो । जिरी खोलाको दोभान हुँदै आबाद गर्नेलाई जिरेल भनियो ।

त्यस्तै दोस्रो समूह तिब्बतबाट चाङपो वा ब्रह्म्मपुत्र नदीको दोभान हुँदै सिमाङग गढ (हाल स्रिमौन गढ) तथा हिमालय मुलुकमा छरिएर पूर्वी नेपालको सुनकोशीमा आबाद गर्न पुगे । उनीहरूलाई सुनुवार जाति भनियो । तेस्रो समूह पनि तिब्बतबाट सिमाङगगढ (हाल स्रिमौन गढ) हुँदै पूर्वी खुम्बु क्षेत्रमा प्रवेश गर्योथ । उनीहरू राई जाति रूपमा परिचित भए ।

चेम्जोङले उल्लेख गरे अनुसार तिब्बतबाट प्रवेश गरेका तीन वटै समूह सिमाङग गढ पुगी त्यहाँबाट क्षेत्रबाट अन्य क्षेत्रमा गएको भन्ने देखिन्छ । चेम्जोङले भने उल्लेख गरे जस्तै सुरेल, जिरेल, सनुवार वा राई मध्ये जुन जातिको गन्नेमान्ने वा बुढापाकालाई पुर्खा बारे जिज्ञासा राख्यो भने अहिले पनि उनीहरू एउटै उत्तर दिन्छन् । त्यो साझा उत्तर हो–‘हाम्रा पुर्खा सिमाङग गढबाट आएका हुन ।’ यसै तवरले थामी जातिका गुरु, पुरोहित, बुढापाका या अन्य जो सुकैसँग पुर्खाका बारे प्रश्न गरौँ । उनीहरू ठोकुवा गर्दै भन्छन्–‘हाम्रा पुर्खा सिमाङग गढ(हाल सिम्रौनगढ गढ) बाट आएका हुन ।’ यति मात्रै होइन, थामी जातिको देवकार्य गर्दा वाचन गरिने सुचिपालोके(मुन्दुम) मा समेत सिमाङग गढको प्रसङ्ग आउँछ ।

यहाँ देखाउन खोजिएको के हो भने सुरेल, जिरेल, सुनुवार, राई र थामी जातिको पुर्खा बारे प्रश्न गर्दा आउने उत्तर एउटै हुन संयोग मात्रै होइन । इतिहासको कुनै काल खण्डमा यी जातिबीच पक्कै निकटता थियो । उनीहरू एउटै नस्लका थिए । उनीहरूको समाज एउटै थियो । बस्ने स्थान एउटै थियो । धर्म एउटै थियो । त्यसैले उनीहरूका पुर्खा पनि एउटै थिए । यस प्रसङ्गमा थामी जातिलाई चेम्जोङले नजोडे पनि उनैले अघि सारेको तथ्यले पुष्टि गर्छ की सुरेल, जिरेल, सुनुवार, राई र थामी एउटै स्थानबाट छुट्टिएका हुन् । त्यसेले दावाका भन्न सक्छौ इतिहासको कालखण्डमा उनीहरूबीच निकटता थिए ।

अर्को प्रसङ्गमा चेम्जोङले भनेका छन्, किराँतीहरूको एउटा समूह अफगानिस्तानबाट हिन्दुस्तान आए । पछि नेपाल(अहिलेको तराई) प्रवेश गरे । उनीहरू सिमाङगर(अहिलेको सिम्रौनगढ गढ) सम्म पुगे । जङ्गल फाँडी बसोबास गर्न लागे । त्यहीबाट उनीहरू नेपालका विभिन्न क्षेत्रहरूमा गएर बसोबास गर्न पुगे । दोस्रो समूह बर्माबाट ब्रह्म्मपुत्र नदी तरेर आसाम हुँदै मोरङ आई बसोबास गरे । तेस्रो समूह तिब्बतबाट ताप्लिजोङग र हेदाङगनामा आई बसोबास गरे । त्यहीँबाट उनीहरू पूर्वी नेपालका पहाडी क्षेत्रमा गई बसोबास गरे ।

चेम्जोङले नै अघि सारेका प्रसङ्गलाई आधार मान्ने हो भने अफगानिस्तानबाट आएका समूह नै अहिलेका थामीका पुर्खा हुन सक्छन् जो सिमाङगर (अहिलेको सिम्रौनगढ) आबाद गरी बसोबास गरेका थिए । त्यसैले थामी जातिको देवकार्यमा वाचन गरिने सुचिपालोके (मुन्दुम) मा सिमाङ्घाट (अहिलेको सिम्रौनगढ) को प्रसङ्ग आयो ।

(नेपाल थामी समाज दोलखाले प्रकाशन गरेको पुस्तक नानको आथाङ उलामबाट)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *