काँग्रेस प्रवेश गर्ने जेएनयूका छैटौँ वामपन्थी सभापति बने कन्हैयाकुमार

काठमाडौँ । भारतका चर्चित युवा र वामपन्थी नेता कन्हैयाकुमार मंगलबार भारतीय काँग्रेस पार्टी प्रवेश गरे । राहुल गान्धि उपस्थित भएको कार्यक्रममा सहभागी भएर उनले औपचारिक रूपमै काँग्रेसको टिकट लिए । उनी दुई महिनादेखि काँग्रेस प्रवेशको तयारीमा रहेको भारतीय सञ्चारमाध्यममा चर्चा चलेको थियो ।
काँग्रेसमा औपचारिक रूपमा प्रवेश गरेपछि कन्हैयाविरुद्ध भारतीय जनता पार्टी (भाजपा) र उनी आवद्ध भारतीय कम्युनिस्ट पार्टी (भाकपा)बाट रोचक आलोचना सुरु भइरहेका छन् । जस्तो: काँग्रेस प्रवेश गर्नुभन्दा दुई महिना अगाडि कन्हैयाले भाकपाको राज्य कार्यक्रम पटनाबाट एयर कन्डिस्नर निकालेका थिए । उनी आफैँले ५० हजार रुपैयाँमा किनेको एसी कन्हैयाले दुई महिनाअघि निकालेको भाकपा पटना कार्यालय प्रमुख इन्दुभुषण बर्माले भारतीय सञ्चारमाध्यमलाई बताएका छन् । भाकपाबाट यो स्तरको आलोचना आए पनि कन्हैयाले भने काँग्रेस प्रवेश गरेर पनि भाकपाको आलोचना गरेका छैनन् । उल्टै कृतज्ञता व्यक्त गरेका छन् । जसलाई उनको सुझबुझपूर्ण कदमका रूपमा हेरिएको छ ।
उनले काँग्रेस प्रवेशपछिको पत्रकार सम्मेलनमा भनेका छन्, ‘उनीहरू (भाकपाका नेताहरू)ले मलाई पढाए । तालिम दिए । मलाई लड्ने हौसला दिए । तर, अहिले देशका लागि लड्नु परेकाले भिन्नताहरू बिर्सेर देशको प्रमुख प्रतिपक्षी पार्टी काँग्रेसको पक्षमा लागेको छु ।’
आफ्नो र काँग्रेस कनेक्सन जोड्न कन्हैयाले रोचक इतिहास सुनाए । काँग्रेस नेता जवाहरलाल नेहरु विश्वविद्यालयबाट विद्यावारिधि गरेका उनले नेहरु नै जोडिएको एक अर्को प्रसङ्ग पनि सुनाए । भने, ‘म हिजोसम्म अखिल भारतीय विद्यार्थी महासङ्घको सदस्य थिएँ । सन् १९३६ मा भएको सङ्घको उद्घाटन सत्रमा जवाहरलाल नेहरुले सम्बोधन गर्नुभएको थियो ।’
विहारको मुगलसराय जिल्लामा जन्मेका कन्हैया कुमारको काँग्रेस प्रवेशलाई लिएर भाजपाका नेताहरूले भने सामाजिक सञ्जालमा खिसीटिउरी गरिरहेका छन् । भाजपाका केन्द्रीय सचिव कैलाश विजय भर्गियाले मंगलबार कन्हैयालाई तिखो प्रहार गरे । उनले भने, ‘कोही बलेँसीबाट ढलमा खस्छ भने मैले सान्त्वना मात्रै दिन सक्छु ।’
खास गरी बिजेपी नेता कार्यकर्ताले कन्हैया कुमारले सन् २०१९ को लोकसभा चुनावमा भाजपाका गिरीराज सिंहसँग ४ लाख मतान्तरले हारेको भन्दै उनी काँग्रेसमा जाँदा पनि कुनै फरक नपर्ने बताउँदै आएका छन् । पछिल्लो चुनावमा दिल्ली र पश्चिम बंगालमा एक सिट पनि ल्याउन नसकेको काँग्रेसलाई कन्हैयाले उद्धार गर्न नसक्ने विभिन्न नेताहरिले तर्क गरिरहेका छन् ।
३४ वर्षका कन्हैयाले विद्यावारिधि गरेका छन् । अफ्रिकी अध्ययन क्षेत्रमा उनले सन् २०१९ मा विद्यावारिधि अर्थात् पिएचडी सकेका हुन् । जवाहरलाल नेहरु विश्वविद्यालयबाट उनको विद्यावारिधि सकिएको हो । उनले एक पुस्तक पनि लेखेका छन् । ‘फ्रम बिहार टू तिहाड : माई पोलिटिकल जर्नी’ शीर्षकमा उनको पुस्तक सन् २०१६ मा प्रकाशित छ । आफूले भगत सिंह, अमबेड्कर, गान्धी र मार्क्सबाट राजनीतिक प्रेरणा लिएको उनले बताउँदै आएका छन् ।
काँग्रेस प्रवेशसँगै मार्क्सबाहेक उनका प्रेरणा लिने नामहरू उनले दोहोर्याएका छन् । पार्टी प्रवेश कार्यक्रममा उनले देश जोगाउन काँग्रेस रोजेको बताए । आफूले छोडेको कम्युनिस्ट पार्टी भाकपाको विरोध नगरेका कन्हैयाले भाजपाको विरोध भने सन् २०१५ देखि २०१६ सम्म जवाहरलाल नेहरु विश्वविद्यालयको विद्यार्थी युनियनको सभापति हुँदादेखि नै चर्को रूपमा गर्दै आएका छन् । उनले सन् २०१६ मा स्वतन्त्रताको नारा लगाउँदा देशद्रोहीको मुद्दा पनि खेपेका हुन् । त्यही जेल जीवन र उनको निजी राजनीति बारेमा उनको पुस्तक आएको हो ।
काँग्रेस प्रवेश गर्ने कन्हैया जवाहरलाल नेहरु विश्वविद्यालयका छैटौँ वामपन्थी सभापति
वामपन्थ ढल्कुवाको आरोप लाग्ने जवाहरलाल नेहरु विश्वविद्यालयमा वामपन्थी दलकै सभापतिहरू धेरै हुँदै आएका छन् । तर, केही वर्षपछि उनीहरूमध्ये कतिपयले भारतीय काँग्रेस पार्टी रोजेका छन् । यसका पछिल्ला संस्करण बनेका छन् कन्हैया कुमार ।
सन् १९९२ देखि १९९३ सम्म जेएनयूको विद्यार्थीको सभापति भएका सकिल अहमद खान अहिले काँग्रेसका राष्ट्रिय समिति सचिव छन् । उनी विहारका एमएलए पनि हुन् ।
सन् १९९६ देखि १९९८ सम्म दुई कार्यकाल सभापति भएका बत्तिलाल बिर्वा अहिले काँग्रेसको राजस्थान राज्यका सचिव छन् ।
सन् १९९९ देखि २००० सम्मका सभापति साहिद नासिर हुसेन कर्नाटकबा काँग्रेसका राज्यसभा सदस्य हुन् ।
सन् २००७ देखि २००८ का सभापति सन्दीप सिंह अहिले काँग्रेसको महासचिव प्रियङ्का गान्धिका मुख्य राजनीतिक सल्लाहकार छन् ।
कन्हैया कुमारपछि‚ अर्थात् सन् २०१६ देखि २०१७ का सभापति मोहित पाण्डे उत्तर प्रदेश काँग्रेसको सामाजिक सञ्जाल ब्युरोको प्रमुख छन् ।
-भारतीय सञ्चारमाध्यमहरूको सहयोगमा








