होटल सञ्चालकद्वारा विद्युत् प्राधिकरणका कर्मचारीमाथि हातपात

विराटनगर । विराटनगरमा होटल सञ्चालन गर्दै आएका विराटनगरका चर्चित जग्गा कारोबारी तुलसी पोखरेलले विद्युत् प्राधिकरण विराटनगरका कर्मचारीमाथि कुटपिट गरेका छन् । नेपाल विद्युत् प्राधिकरण विराटनगर वितरण केन्द्रका कर्मचारी तारानाथ खतिवडामाथि हातपात भएको नेपाल विद्युत् प्राधिकरण विराटनगर वितरण केन्द्रका प्रमुख रोशन खड्काले बताए ।

३ लाख १४ हजार बक्यौता तिर्न बाँकी भएपछि प्राधिकरणका कर्मचारी कामको सिलसिलामा लाईट काट्न गएको बेलामा हातपात तथा दुर्व्यवहार भएको खड्काले बताए । विराटनगर महानगरपालिका-१ घर भएका पोखरेल विराटनगर-१२ मा रहेको होटल इस्टर्न स्टारका सञ्चालक हुन् ।

यसैबीच कर्मचारी कुटपिटको विषयलाई लिएर नेपाल विद्युत् प्राधिकरण कर्मचारी संघ र नेपाल विद्युत् प्राधिकरण राष्ट्रिय कर्मचारी युनियनले संयुक्त विज्ञप्ति जारी गर्दै घटनाको विरोध गरेको छ । आज साँझ एक प्रेस विज्ञप्ति जारी गर्दै समयमै महसुल भुक्तानी नगरेर बाँकी बक्यौता रहेको ग्राहकको लाइन काट्ने सिलसिलामा होटल ईस्टर्न स्टारका सञ्चालक तुलसी पोखरेलले गुण्डागर्दी शैलीमा गाली बेइज्जती तथा हातपात गरेको जनाएको छ ।

घटनाप्रति क्रियाशील ट्रेड युनियनले घोर निन्दा र भर्त्सना गर्दै पोखरेललाई यथाशीघ्र पक्राउ गरी कानूनी कारबाही गर्न पनि माग गरेको छ । ‘निजलाई कानुनी कारबाही नहुन्जेलसम्म उपयुक्त ग्राहकको विद्युत् सेवा सुचारु नगर्न हुनसमेत माग गर्दछ,’ विज्ञप्तिमा भनिएको छ, ‘राष्टसेवक कर्मचारीहरूप्रति हुने यस्ता खालकोा उच्छृङ्खल एवं निन्दनीय कार्यलाई निरुत्साहित गर्न हुन सचेत राजनीतिक दल नागरिक समाज बुद्धिजिवीमा अनुरोध गर्दछौँ ।’

होटल संचालक पोखरेलले कुटपिट गर्नुको कारणको बारेमा प्रतिक्रिया लिन खोज्दा फोन उठाएनन् । अर्का सञ्चालक भविश श्रेष्ठले लाईन काट्न आउँदा रोक्न खोजेको‚ तर कुनै कुटपिट नभएको बताए । ‘हामीले लाईन नकाट्न भन्दा केही भनाभन भएको हो,’ श्रेष्ठले भने, ‘कुटपिट भएको होइन ।’

No description available.

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *