३८ क्विन्टल सुन काण्ड : प्रतिवादीको तर्फबाट १५ जना वकिलले गरे बहस

विराटनगर । साढे ३३ किलो सुनसँग जोडिएको उर्लाबारीका सनम शाक्य हत्या प्रकरणको मुद्दा आज पनि हेर्दा हेर्दैमा सकिएको छ । मुद्दाको सुनुवाई सुरु भएको आज तेस्रो दिनसम्म पनि बहस नै चलिरहेको छ ।

आजसम्म सरकारी पक्षले बहस सकेर प्रतिवादीका तर्फबाट वकिलहरूले बहस गर्ने काम भइरहेको अदालतका श्रेस्तेदार टीकेन्द्र वीरजंग राणाले जानकारी दिए । अदालतमा भएको बुधबारको बहसमा १३ जना वकिलले बहस गरेका छन् ।

आपराधिक समूह स्थापना र सञ्चालन गरी सुन चोरी/पैठारी र निकासीको अवैध कारोबार, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान मुद्दामा ७७ जनामाथि कसुर गरेको भन्दै जिल्ला अदालत मोरङमा मुद्दा दायर भएको थियो । २०७५ वैशाख १९ गते ६६ जनामाथि मुद्दा दायर गरेको जिल्ला सरकारी वकिलको कार्यालयले अन्य व्यक्तिको समेत संलग्नता रहेको भन्दै तीन पटक पुरक अभियोग दर्ता गरेको छ ।

जिल्ला न्यायाधीश भरत लम्सालको इजलाशमा सुरु भएको अन्तिम सुनुवाइको क्रममा बुधबारसम्ममा प्रतिवादीका तर्फबाट १५ जना वकिलहरूले बहस गरिसकेका छन् । बुधबारमात्र १३ जना वकिलले प्रतिवादीको तर्फबाट बहस गरेको मोरङ जिल्ला अदालतका सूचना अधिकारी राजेन्द्रप्रसाद धमलाले जानकारी दिए ।

धमलाका अनुसार बुधबार बहस गर्ने वकिलहरूमा बिनोद तिम्सिना, विकास थापा, सरोज अधिकारी, कला त्रिताल, हेमराज पन्त, गणेशराज लुइँटेल, ज्ञानेन्द्र थापा, रामबन्धु शर्मा, भरतप्रसाद खरेल, रमेश महर्जन, शान्तिराम भण्डारी, रामप्रसाद भण्डारी र अमरबहादुर राउत छन् ।

बहसका लागि १४ जनाले नाम टिपाएकोमा १३ जनाले मात्र बहस गर्न पाएको उनले बताए । यसअघि नै सरकारी वकिलको तर्फबाट ३ जनाले बहस गरिसकेका छन् । प्रतिवादी नेपाल सरकारका तर्फबाट उच्च सरकारी वकिल कार्यालय विराटनगरका सह-न्यायाधीवक्ता ज्ञानप्रसाद भुसाल, जिल्ला सरकारी वकिल कार्यालय मोरङका जिल्ला न्यायाधिवक्ता रामहरि शर्मा काफ्ले र सहायक जिल्ला न्यायाधिवक्ता मनिषबाबु पोखरेलले बहस गरेका हुन् ।

अभियोगमा ३८ क्विन्टल सुन चोरी तस्करी भएको दाबी गरिएको छ । अभियोग दर्ता भएका मध्ये ५५ जना पक्राउ परेका छन् भने २२ जना अझै फरारको सूचीमा रहेको प्रहरीको दाबी छ । सुन तस्करीको विषयलाई लिएर मुख्य योजनाकार भनिएका उर्लाबारीका गोरे भनिने चूडामणि उप्रेतीसहितको समूहले उर्लाबारीका सनम शाक्यको हत्या गरेको अभियोग लगाइएको छ । हत्या भएका शाक्य भरियाको रूपमा प्रयोग भएका व्यक्ति भएको प्रहरीको भनाइ छ ।

मुख्य अभियुक्त भनिएका गोरेको समूहले दुबईबाट २०७४ साल माघ ९ गते तस्करीमार्फत भित्र्याएको साढे ३३ किलो सुन काठमाडौँ ल्याइपुर्‍याएपछि गायब बनाइएको भनिएको छ । अहिलेसम्म फेला नपरेको सुन कहाँ छ भन्नेबारे भने कुनै उल्लेख छैन ।

यो मुद्दामा प्रहरीका उच्च अधिकारीलाई समेत प्रतिवादी बनाएको छ । केही उच्च अदालतबाट छुटिसकेका छन् भने केही अझै जेलमा नै रहेका छन् । सुन तस्करका भरियाको काम गर्दै आएका शाक्यको हत्या भएको घटनाको अनुसन्धान थाल्दा विदेशबाट झन्डै ३८ क्विन्टल सुन तस्करी गरेर नेपाल ल्याइएको प्रहरीले भन्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *