जसपा विभाजनपछि झनै शक्तिशाली लालबाबु सरकार

जनकपुरधाम । प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले प्रतिनिधित्व गर्ने दल जनता समाजवादी पार्टी (जसपा) विभाजन भएको महिना बितिसकेको छ । मुख्यमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजन भएमा ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान रहेको छ । तर, जसपा विभाजन भएको ३५ दिन बितिसक्दा पनि मुख्यमन्त्री राउतले विश्वासको मत लिएका छैनन् ।

विश्वासको मत लिने विषयमा मुख्यमन्त्री राउतको आफ्नै तर्क छ । केन्द्रमा पार्टी भदौ ९ मा विभाजन भएपनि प्रदेश सांसदहरूलाई २२ भदौसम्म पार्टी रोज्न पाउने समयसीमा रहेको र त्यसपश्चात् निर्वाचन आयोगले प्रदेश सभालाई औपचारिक रूपमा जानकारी गराएको मितिले ३० दिनभित्र आफूले विश्वासको मत लिने उनको तर्क छ ।

नेपालको संविधानको धारा १८८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजन भएमा वा प्रदेश सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा मुख्यमन्त्रीले प्रदेश सभामा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने बाध्यात्मक व्यवस्था छ ।

९ भदौमा जसपाबाट छुटिएर लोसपा बनेको थियो । पार्टी विभाजनपश्चात् प्रदेश नं. २ मा रहेका जसपाका ५५ सांसदमध्ये १६ सांसद लोसपातिर लागेका थिए ।

पर्टीमा विवाद चुलिँदै गएपछि पार्टी विभाजन हुनुअघि नै मुख्यमन्त्री राउतले आफ्नै पार्टी मन्त्रीहरुलाई हटाउँदै सरकार बलियो पार्न काँग्रेस र माओवादीलाई सरकारमा सहभागी गराएका थिए ।

अहिले प्रदेश नं. २ मा जसपा, कांग्रेस र माओवादी गठबन्धनको संयुक्त सरकार रहेको छ ।

विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री राउत

प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले विश्वासको मत लिने तयारी गरेका छन् । विश्वासको मत लिने तयारीस्वरूप मुख्यमन्त्री राउतले प्रदेश सभाको अधिवेशन असोज २० को लागि आह्वान गरेका हुन् ।

अर्थमन्त्री शैलेन्द्रप्रसाद साहकाअनुसार प्रदेश सभाबाट यही असोज २० गते मुख्यमन्त्री राउतले विश्वासको मत लिनेछन् । अब प्रदेश २ सरकारको विपक्षमा नवगठित लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल र नेकपा एमाले रहनेछ । करिब दुई महिनापछि प्रदेश सभा बैठक बस्न लागेको हो । बैठक लामो समयदेखि नबस्दा प्रदेश सरकारको आलोचना भइरहेको छ ।

जसपा विभाजनपछि झनै शक्तिशाली लालबाबु सरकार

जसपा विभाजनपश्चात् लालबाबु राउत नेतृत्वको सरकार झन् शक्तिशाली बनेको छ । यसअघि जसपाको एकल सरकार रहेको प्रदेश २ मा ५५ सांसदको समर्थन थियो ।

उपेन्द्र यादव नेतृत्वको जसपाबाट छुटिएर महन्थ ठाकुरको नेतृत्वमा लोसपा बनेपछि जसपाका १६ सांसदले लोसपा रोजेका थिए भने ३९ सांसद जसपामै बसे । ३९ जना सांसदमा सभामुख र उपसभामुखसमेत छन् ।

०७५ फागुन ३ मा ५५ सांसदको समर्थनसहित मुख्यमन्त्री बनेका लालबाबु राउतलाई अहिले सभामुख र उपसभामुख बाहेक आफ्नो पार्टीको ३७, कांग्रेसको १९ र माओवादी केन्द्रको ८ सांसदको समर्थन रहेको छ । यस हिसाबले मुख्यमन्त्री राउतसँग अहिले ६४ सांसदको समर्थन रहेको देखिन्छ ।

प्रदेश नं. २ मा अहिले जसपा, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धनको सरकार रहेपनि माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले समेत मुख्यमन्त्री राउतलाई समर्थन गर्ने निर्णय गरिसकेकोले मुख्यमन्त्री राउत नेतृत्वको सरकारसँग करिब दुईतिहाइ बहुमत पुग्नेछ ।

यस्तो छ प्रदेशको अंकगणित

हाल प्रदेश २ मा जनता समाजवादी पार्टीका ३९ (सभामुख र उपसभामुखसहित), कांग्रेसका १९, लोसपाका १६, नेकपा एकीकृत समाजवादीका १३, माओवादी केन्द्र र एमालेका ८/८, र एकजना स्वतन्त्र सांसद छन् ।

यसअघि प्रदेश सभाको सदस्य संख्या १ सय ७ सात भएपनि एमालेमा लागेका एक समानुपातिकसहित आफ्ना ४ प्रदेश सांसदलाई माओवादी केन्द्रले कारबाही गरेको थियो । तर माओवादी केन्द्रले खाली रहेको समानुपातिक कोटामा सांसद चयन गरिसकेकाले अहिले प्रदेश सभामा कायम सदस्य संख्या १०४ छ ।

यस हिसाबले प्रदेश २ मा मुख्यमन्त्री राउतलाई विश्वासको मत प्राप्त गर्न ५३ सांसदको साथ चािहन्छ । तर उनीसँग ६४ सांसदको समर्थन रहेको देखिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *