प्रदेश नं. २

असोज २० गते विश्वासको मत लिँदै मुख्यमन्त्री राउत

जनकपुरधाम । प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले विश्वासको मत लिने तयारी गरेका छन् । विश्वासको मत लिने प्रयोजनका लागि प्रदेश सभाको बैठक असोज २० गते बोलाइएको आर्थिक मामिला तथा योजनामन्त्री शैलेन्द्रप्रसाद साहले बताए । सत्तासीन दल जनता समाजवादी पार्टी (जसपा) मा आएको फुटका कारण मुख्यमन्त्री राउतले विश्वासको मत लिने भएका हुन् ।

अहिले प्रदेशमा जसपा, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धनको सरकारको छ । माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले समेत मुख्यमन्त्री राउतलाई समर्थन गर्ने निर्णय गरिसकेकोले मुख्यमन्त्री राउत नेतृत्वको सरकारसँग करिब दुईतिहाइ बहुमत पुग्ने नेताहरूले दाबी गरेका छन् ।

अब प्रदेश सरकारको विपक्षमा नवगठित लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल र नेकपा एमाले रहनेछन् । करिब दुई महिनापछि प्रदेश सभा बैठक बस्न लागेको हो । बैठक लामो समयदेखि नबस्दा प्रदेश सरकारको आलोचना भइरहेको छ ।

अहिले जसपासँग ३९, सत्तामा सहभागी कांग्रेससँग १९, नेकपा माओवादी केन्द्रसँग ८ र सरकारलाई समर्थन गरेको एकीकृत समाजवादीसँग १३ गरी ७९ सांसद छन् ।

प्रदेशमा कूल १०७ जना सांसद रहेकोमा माओवादीले ३ जनालाई कारबाही गरेपछि अहिले १०४ जना सांसद छन् । जसमध्ये सत्तापक्षसँग ७९, लोकतान्त्रिक समाजवादी पार्टीसँग १६, नेकपा एमालेसँग ८ र नेपाल संघीय समाजवादी पार्टीका एक जना सांसद छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *