राष्ट्रपतिलाई सम्पदा संरक्षणकर्मीको ज्ञापन

पुराना ग्रन्थ र ऐतिहासिक दस्तावेज नासिने चिन्ता 

काठमाडौँ भ्यु टावर निर्माणको काम रोकेर राष्ट्रिय पुस्तकालय बनाउन सम्पदा संरक्षणकर्मीको माग

काठमाडौँ । सम्पदा संरक्षणकर्मीहरूले पुराना ग्रन्थ र ऐतिहासिक दस्तावेज नासिँदै जानेमा चिन्ता व्यक्त गरेका छन् । मंगलबार राष्ट्रपति विद्या भण्डारीलाई ज्ञापन पत्र बुझाउँदै उनीहरूले ऐतिहासिक दस्तावेज नासिँदै जाँदा ज्ञानको स्रोत नै सुक्ने जोखिम रहेकोप्रति चिन्ता व्यक्त गरेका हुन् ।

तीन सय वर्ष भन्दा पुराना हस्तलिखित ग्रन्थहरू संरक्षणको अभावमा ढुसी र किरा लागेर नष्ट भइरहेको उनीहरूले बताएका छन् । ‘राष्ट्रिय पुस्तकालय बन्न नसक्दा ऐतिहासिक कागजात र पुराना किताबहरू बोरामा कोचेर राखिएका छन् । ती नासिँदै जाने अवस्थामा छन्,’ ज्ञापन पत्रमा लेखिएको छ, ‘पुराना ग्रन्थ र ऐतिहासिक दस्तावेज नासिँदै जाँदा ज्ञानको स्रोत नै सुक्ने जोखिम छ ।’

अधिकांशमा हस्तलिखित ग्रन्थहरू ढुसी र किरा लाग्न थालेको उनीहरूको भनाई छ । ‘अधिकांशमा ढुसी र किरा लाग्न थालेको हामीले बुझेका छौँ । कतिपय कागजात धुजा धुजा भइसकेका छन् । यस्तो अवस्थामा राष्ट्रिय पुस्तकालयलाई तत्कालै नयाँ भवनमा स्थानान्तरण गर्न ढिलो भइसकेको छ,’ पत्रमा अगाडि भनिएको छ ।

भ्यु टावर निर्माणको काम रोकेर राष्ट्रिय पुस्तकालय बनाउन माग
उनीहरूले राष्ट्रिय पुस्तकालयलाई पुरानो बसपार्कको निर्माणाधीन भवनमा सार्न माग गरेका छन् । भुईँचालोपछि पुस्तकालय भवन पुनर्निर्माण हुन नसकेका बेला उनीहरूले. बसपार्कमा निर्माणाधीन टावरको निर्माण कार्य रोकेर त्यसको सट्टा पुस्तकालय सार्न माग गरेका हुन् ।

साथै रत्नपार्कमा निर्माणाधीन भ्यु टावरको निर्माण रोकेर राष्ट्रिय पुस्तकालयका रूपमा फर्काउन पनि मागसहित गरिएको छ । ‘काठमाडौँ भ्यु टावर’ नाम दिइकन त्यस भवनलाई व्यापारिक केन्द्र बनाउनुको सट्टा अहिलेसम्म निर्माण भएका संरचनालाई तत्कालै यथास्थितिमा राखी त्यहाँ राष्ट्रिय पुस्तकालय स्थानान्तरण गरी त्यसलाई ‘विद्याको केन्द्र’ बनाउनु उपयुक्त हुन्छ भन्ने यहाँसमक्ष हाम्रो निवेदन छ,’ ज्ञापन पत्रमा अगाडि भनिएको छ, ‘विभिन्न समयमा ‘काठमाडौँ भ्यु टावर’को खिलाफमा स्थानीय बासिन्दा तथा उपत्यकामा खुला क्षेत्र बचाउन लागिपरेका अभियन्ताको आवाज नउठेको होइन, तर यसमा सङ्घीय, प्रान्तीय तथा स्थानीय निकाय तथा पदाधिकारीहरूको गम्भीर ध्यान नगएको हामीले पायौँ ।’

राष्ट्रपति भण्डारीको जवाफ
उक्त अवसरमा राष्ट्रपति भण्डारीले दयनीय अवस्थामा रहेका पुस्तकलाई अस्थायी रूपले सुरक्षित राख्ने गरी तत्काल कुनै स्थान खोज्न पहल गर्नुपर्ने बताएकी छन् । पुरानो बसपार्कमा भइरहेको निर्माणबारे आफूले पटक पटक सुझाव दिएको तर हालसम्म यस विषयमा कुनै खास उपलब्धि हुन नसकेकोमा उनले चिन्ता व्यक्त गरेकी छन् ।

उक्त निर्माणाधीन भवनलाई शैक्षिक केन्द्रका रूपमा विकास गर्न सकिने वा नसकिनेबारे केन्द्रीय तथा स्थानीय सरकारसँग छलफल गर्ने समेत उनले बताइन् । वरपर अग्ला भवन बनाउँदै जाने हो भने काठमाडौँको मुटुमा रहेको खुला क्षेत्र टुँडिखेल कचौराजस्तो हुनेबारे आफूलाई अवगत भएको उनले उल्लेख गरिन् ।

हेर्नुहोस् ज्ञापन पत्रको पूर्ण पाठ :-

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *