अनलाइनबाटै मगाउनुस् पूजा सामान र फूल बोटबिरुवा

काठमाडौँ । अनलाइन सेवाबाटै पूजा सामानका साथै फूल बोटबिरुवा मगाउन सकिने नयाँ व्यवसाय सुरु भएको छ । विजया दशमीको अवसरमा पिनाकिन टेक्नोलोजिज प्रालिले पूजाथाली डट कम र ई-नर्सरी नेपाल डट कमको सेवा सुरु गरेको हो ।
कम्पनीका निर्देशक सुजित ज्ञवालीका अनुसार हाम्रो धर्म र संस्कार अनुसारका हरेक चाडपर्व र पूजाआजाको लागि चाहिने सबै सामान पूजाथाली डट कमले उपलब्ध गराउँछ । ज्ञवाली भन्छन्, ‘कुन पूजाको लागि के के सामान चाहिन्छ ? कति कति चाहिन्छ ? ती सामानहरू कहाँ कहाँ पाइन्छ ? यी सबै प्रश्नको एउटै जवाफको रूपमा हामीले पूजाथाली सुरु गरेका हौँ ।’
पूजाथाली डट कममा विभिन्न देव देवताका मूर्तिहरू र पूजाको लागि चाहिने तामा तथा पित्तलका भाडाहरू पनि पाइने ज्ञवालीले बताए । कम्पनीले गएको चार महिनादेखि फल, फूल तथा सजावटका बोट बिरुवाहरू, विभिन्न किसिमका गमलाहरू साथै मल, कीटनाशक र घरेलु बगैँचाका लागि चाहिने औजारहरू उपलब्ध गराउने गरी ई-नर्सरी नेपालको सेवा पनि निरन्तर गरिरहेको छ ।








