पद्मश्री पुरस्कार ‘मोक्षभूमि’लाई, सम्मान गायक आचार्यलाई

काठमाडौँ । २०७७ सालको पद्मश्री साहित्य पुरस्कार केशव दाहालको उपन्यास ‘मोक्षभूमि’ले पाउने भएको छ । त्यस्तै पद्मश्री साधना सम्मान गायक तथा संगीतकार भक्तराज आचार्यलाई दिइने भएको हो ।

खेमलाल-हरिकला लामिछाने प्रतिष्ठानले हरेक वर्ष यसै गरी कला, साहित्य र प्राज्ञिक क्षेत्रका एक-एक जना व्यक्तित्वलाई पुरस्कृत र सम्मानित गर्दै आएको छ । ‘मोक्षभूमि उपन्यासमा लेखकले आजभन्दा झण्डै सात सय वर्ष पुरानो मध्ययुगीन सिंजा खस साम्राज्यमा रहेको मानव सभ्यतालाई मैलो बनाउने दासहरुको मुक्तिको गाथा र गरिमालाई चित्रण गरेका छन्,’ प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘जहाँ युद्ध र अपराध, पाप र प्रायश्चित, प्रेम र यौन, सत्ता र सपना, स्वतन्त्रता र साधना, सङ्घर्ष र मोक्षको कथालाई मोक्षभूमि नामक काल्पनिक परिवेश दिएर चित्रण गरिएको छ ।’

त्यस्तै भजनशिरोमणिका रूपमा चिनिने आचार्य लामो समयदेखि संगीत साधनामा तल्लीन छन् । ‘पद्मश्री साधना सम्मान तीसको दशकदेखि सुगम गीतसङ्गीत तथा भजन गायनमा महत्वपूर्ण योगदान पुर्रयाएका गायक तथा सङ्गीतकार भजन शिरोमणि भक्तराज आचार्यलाई अर्पण गर्ने निर्णय गरिएको छ । वि.सं. ०४६ सालको एक साँझ काठमाडौंको बौद्धमा साङ्घातिक हमला भएपछि उनको गायनयात्रामा पूर्णविराम लाग्यो, जुन नेपाली गीतसङ्गीतका लागि ठूलो क्षति हो । १६ वर्षको छोटो सङ्गीत साधानाका माध्यमबाट पनि उनले लामो कालखण्डले सम्झिइरहने कालजयी सिर्जना दिएका छन्,’ विज्ञप्तिमा अगाडि भनिएको छ ।

पद्मश्री साहित्य पुरस्कार र पद्मश्री साधना सम्मानको राशि तीन/तीन लाख रुपैयाँ छ । वि.सं. २०६३ सालदेखि खेमलाल-हरिकला लामिछाने प्रतिष्ठान चितवनले नेपाली साहित्यका वर्षभरि प्रकाशित पुस्तकमध्ये निर्णायक मण्डलले उत्कृष्ट ठहर्‍याएको एउटलाई पद्मश्री साहित्य पुरस्कार प्रदान गर्दै आएको छ । त्यस्तै ०६७ सालदेखि प्रतिष्ठानले साहित्य, कला, संगीत, अभिनय आदि क्षेत्रमा दीर्घसाधना गर्ने वरिष्ठ साधकलाई पद्मश्री साधना सम्मान गर्दै आएको छ । दुवै सम्मान तथा पुरस्कार प्रत्येक वर्ष कोजाग्रत पूर्णिमाका दिन प्रदान गर्ने गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *