कार्यकाल सकिनै लाग्दा महोत्तरीको एक वडामा पुनः मतगणना 

जनकपुरधाम । स्थानीय तहका निर्वाचित प्रतिनिधिहरूको कार्यकाल सकिनै लाग्दा महोत्तरीको एक नगरपालिकाको वडामा पुनः मतगणना हुने भएको छ । जिल्लाको मनरा सिस्वा नगरपालिकाको एक वडामा अदालतले पुनः मतगणना गर्न आदेश दिएको हो ।

पाँच वर्षे कार्यकालमा चार वर्ष बितिसकेको अवस्थामा जिल्लाको मनरा सिस्वा नगरपालिका वडा नम्बर-१० मा वडाध्यक्ष पदका लागि पुनः मतगणना गर्ने उच्च अदालत जनकपुरका न्यायाधीशद्वय हरिप्रसाद बगाले र रामेश्वर रेग्मीको संयुक्त इजलासले दिएको आदेशलाई सर्वोच्च अदालतले ४ वर्ष पश्चात् सदर गरेको हो ।

सर्वोच्चको आदेशअनुसार विवादित विषयको दोहोर्‍याएर मतगणना गर्न आगामी ०७८ कात्तिक ७ मा बिहान ११ बजेदेखिको समय निर्धारण गरिएको छ ।  ०७४ असोज २ मा भएको स्थानीय तहको निर्वाचनमा मनरा सिस्वा नगरपालिकामा ०७८ असोज ८ मा नतिजा प्रकाशित गरियो । तत्कालीन राजपाबाट टिकट नपाएपछि स्वतन्त्रबाट उम्मेदवारी दिएका रमेश कुमार राय र नेपाली काँग्रेसका अरुणकुमार चौधरीले क्रमशः ६७र६७ मत प्राप्त गरे । दुवै उम्मेदवारले बराबर मत ल्याएपछि गोला प्रथाबाट अरुण चौधरी निर्वाचित भए ।

निर्वाचन अधिकृत आमबहादुर बानियाँले बदर मतमध्येबाट ३ मत चौधरीको पक्षमा पारेको भन्दै रमेश रायले अदालतमा मुद्दा दिएका थिए । सोही मुद्दामा उच्च अदालतले ०७५ असार २१ मा १५ दिनभित्र पुनः मतगणना गर्न आदेश दिएको थियो । उच्च अदालतको सो आदेशपछि चौधरी सर्वोच्च पुगेका थिए । सर्वोच्चले मुद्दाको सुनुवाइ गर्दै ०७७ चैत ६ मा उच्च अदालत जनकपुरको आदेशलाई सदर गर्‍यो ।

त्यसपछि पुनः मतगणनाको मिति निर्धारण गर्नुपर्नेमा कोरोना महामारीका कारण लकडाउन भएपछि मिति तोक्न सकिएको थिएन । अन्ततः दोर्होयाएर मतगणना गर्न आगामी ०७८ कात्तिक ७ गते बिहान ११ बजेदेखिको समय निर्धारण गरिएको छ । ०७४ असोजमा सम्पन्न स्थानीय तहको निर्वाचनमा मनरा सिस्वा नगरपालिका-१० को वडाध्यक्ष पदमा ९ जना उम्मेदवार चुनावी मैदानमा होमिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *