विमानमा समस्या आइरहन्छन् पाईलटले धीरता गुमाउन हुँदैन : वरिष्ठ पाईलट लिम्बु

काठमाडौँ । आइतबार बिहान काठमाडौँबाट विराटनगरका लागि उडेको बुद्ध एयरको विमान (उडान संख्या यू-४‚ ७०१) मा प्राविधिक समस्या देखिएपछि काठमाडौँ नै फर्काएर आपतकालीन अवतरण गरियो । विराटनगर विमानस्थलमा अवतरणको तयारीका क्रममा ल्यान्डिङ गियरमा समस्या आएपछि विमान काठमाडौँ फर्काइएको बुद्ध एयरले जनाएको छ ।

गियर बक्स नखुलेपछि विमान चालक क्या. एजी शेर्पाले काठमाडौँ फर्काउने निर्णय गरेका थिए । तर काठमाडौँ फर्किएपछि पनि तत्काल अवतरण नगरी झण्डै २ घण्टासम्म विमान आकाशमा घुमिरह्यो । यसक्रममा यात्रु अब बाँचिदैन भन्ने मनोदशामा पुगेको यात्रुमध्येका एक प्रताप लिम्बुले बताएका छन् ।

अन्त्यमा ७३ जना यात्रु रहेको विमानलाई काठमाडौँमा सुरक्षित अवतरण गराएकोमा क्या शेर्पासहितको प्रशंसा भइरहेको छ ।

विमान आकाशमै घुमिरहेको समयमा यात्रु आत्तिएको भिडियो सार्वजनिक भएको छ । आफू मरिन्छ भन्ने सोचेर परिवारलाई मेसेजसमेत गरेको यात्रुले बताएका छन् । यात्रु प्रताप लिम्बूले काठमाडौँमा दशौँ पटक आकाशमा घुमाएर पनि ल्यान्ड गर्न नसकेपछि मनमा चिसो पसेको बताएका छन् ।

‘जब प्लेनबाट काठमाडौँको एयरपोर्टमा नेपाली सेना, सुरक्षाकर्मी तयार देखेँ । त्यसपछि लाग्यो‚ यो जीन्दगी पनि यति नै रहेछ । आज बाँचिदैन भन्ने भित्रैबाट लाग्यो । हामीले प्लेनको ढोका खोलिदिनुस् हामी हाम फाल्छौँसमेत भन्यौँ । तर एयर होस्टेजले हौसला दिनुभयो । उहाँहरू यत्तिकै एयर होस्टेज भएको होइन रहेछ । क्याप्टेनले म अन्तिम पटक प्रयास गर्छु भनेर ल्यान्ड गर्नुभयो हामी बाच्यौँ । उहाँको प्रयास सफल भयो । केही यात्रु त प्लेनमा नै बेहोस हुनुभएको थियो ।’

काखमा बच्चा च्यापिरहेकी एक महिला यात्रुले पनि आफूलाई आज मरियो भन्ने लागेको बताएकी छन् ।

आफूले चलाइरहेको विमानमा प्राविधिक समस्या आउँदाको आतुरी एकातिर हुने नै भयो अर्कोतिर आफूसहित यात्रुलाई कसरी सकुशल अवतरण गराउने भन्ने दबाबका बेला विमान चालकहरूले कसरी निर्णय गर्छन् भनेर मकालुखबरकर्मी मनिषा पौडेलले वरिष्ठ पाइलट केवी लिम्बुलाई सोधेकी छन् ।

‘यस्ता परिस्थिति पाइलटको जीवनमा धेरै आउँछन् । यस्तो अवस्थामा धैर्य नगुमाई विवेकपूर्ण निर्णय गर्नुपर्छ । विमानमा यस्ता समस्याहरू आउने अवस्थासँग चालक र अन्य उडान कर्मचारी एक हिसाबले मानसिक रुपमा तयार रहेका हुन्छन् । अनुभवी पाइलटका लागि विमानमा प्राविधिक समस्या आउनु सामान्य कुरा नै हो‚’ उनी भन्छन्‚ ‘इन्डिकेसनमा समस्या आउनु सामान्य हो । इलेक्ट्रिक सट, अरु विविध कारणले जल्ने समस्या हुँदा इन्डिकेसनमा समस्या आउँछ । तर यदि ल्यान्डिङ गियर ननिस्कने गरी अड्किएको नै छ भने चाहिँ दुर्घटना हुने सम्भावना उच्च हुन्छ । त्यसैले निर्णय गर्दा धेरै विचार पुर्‍याउनुपर्छ ।’

ल्यान्डिङ गियर नखुल्दा पनि विमान अवतरण भने गराउन सकिन्छ । तर दुर्घटना हुने सम्भावना हुने भएकाले तयारी राम्रो हुनुपर्छ । यस्तो अवस्थामा धावनमार्ग ठूलो भएको राम्रो लसजस्टिक सपोर्ट भएको विमानस्थलमा अवतरण गराउनुपर्छ ।

आज यदि विराटनगरमा नै ल्यान्ड गर्ने कोसिस गरेको भए दुर्घटना हुने सम्भावना धेरै हुने थियो । यस्तो कुरा एउटा अनुभवी पाईलटले बुझेको हुन्छ । यो पाईलटको ‘पार्ट अफ जब’ हो । तालिममा यो सबै अवस्थासँग जुध्न सिकाइएको हुन्छ ।

यस्तो आपतकालीन अवस्थामा विमानको इन्धन कम गरेर अवतरण गर्दा यदि दुर्घटना भइहाले पनि क्षति कम हुन्छ । आज २ घण्टा जति विमान आकाशमा घुमाउनुको कारण पनि इन्धन घटाउनु नै हो ।

ल्यान्डिङ गियर नखुलेमा विमान घर्षण भई आगलागी हुने सम्भावना उच्च हुने भएकाले अग्नि नियन्त्रण यन्त्रको राम्रो व्यवस्था हुनुपर्छ ।

यो पनि : बाँच्ने आशा मारिसकेका थियौँ तर बाँचियो…

एउटा अनुभवी पाईलटले एउटा इन्जीन नै फेल भएको विमानसमेत सुरक्षित अवतरण गराउन सक्ने भएकाले विमान दुर्घटना हुनबाट बचाउन अनुभवको धेरै महत्व हुने कुरा पटक पटक पुष्टि हुँदै आएको छ ।

(लिम्बुसँग नेपाल वायुसेवा निगम लगायत विभिन्न विमान कम्पनीमा ३ दशक विमान उडाएको अनुभव छ ।)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *