दलको नेता चयन गर्न लोसपा संसदीय दलको बैठक जनकपुरमा सुरु

जनकपुरधाम । प्रदेश २ मा संसदीय दल नेता चयन गर्न लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को बैठक जनकपुरमा सुरु भएको छ । दलको नेता चयन गर्न लोसपा संसदीय दलको बैठक जनकपुरस्थित होटेल सिटी स्टारमा अहिले बसिरहेको छ ।

लोसपा अध्यक्ष महन्थ ठाकुरको प्रमुख आतिथ्यमा सुरु भएको बैठकमा वरिष्ठ नेताद्वय राजेन्द्र महतो, शरतसिंह भण्डारी, पूर्वमन्त्री उमाशंकर अरगरिया तथा सांसदहरू सहभागी छन् । उक्त बैठकमा पहिले संसदीय दलको विधान पारित गरिने र त्यसपछि दलका नेता चयन गरिने लोसपाका एक सांसदले बताए ।

लोसपा स्रोतका अनुसार दलका नेता बन्ने दौडमा सुरिता साह, जितेन्द्र सोनल र उपेन्द्र महतो रहेका छन् । संसदीय दलका नेता बन्ने दौडमा रहेका उपेन्द्र महतो वरिष्ठ नेता राजेन्द्र महतोका भतिजा हुन् भने सुरिता साह संघीय सरकारका पूर्वमन्त्री हुन् । त्यस्तै जितेन्द्र सोनल प्रदेश २ का पूर्वमन्त्री एवं तत्कालीन राजपाका संसदीय दलका नेता थिए ।

स्रोतका अनुसार दलका नेता बन्ने प्रबल सम्भावना सुरिता साहको रहेको छ । तर जितेन्द्र सोनल पनि दलको नेता बन्न शक्ति केन्द्रहरुमाथि कसरत गरिरहेका छन् । अध्यक्ष ठाकुर सोनलको पक्षमा छन् भने वरिष्ठ नेता महतो साहलाई संसदीय दलको नेता बनाउने पक्षमा रहेका छन् ।

महिला सांसदलाई दलको नेता बनाउनुपर्ने आवाज उठिरहेकाले योपटक साह दलको नेतामा चयन सर्वसम्मत‍ रुपमा चयन हुने प्रबल सम्भावना रहेको एक सांसदले बताए ।

दलका नेता चयन गर्न आइतबार नै बैठक डाकिए पनि पार्टीको तर्फबाट प्रदेश सांसद रहेकाहरूलाई पार्टीको विधानमात्रै बाँडिएको थियो ।

आइतबार भने बैठक औपचारिक रुपमा सुरु पनि भएन । विधान अध्ययनपश्चात् आज पारित गर्ने र त्यसपछि दलका नेता चयन प्रक्रिया सुरु हुनेछ ।

राजनीतिक दलसम्बन्धी अध्यादेश प्रमाणीकरण भएपछि जसपाबाट अलग भएर लोसपा गठन गरिएको छ । प्रदेश २ मा जसपाका ५५ सांसद थिए । जसमध्ये लोसपाको पक्षमा १६ सांसदले सनाखत गरेका थिए । उनीहरुमध्ये नै एकजना दलका नेता बन्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *