निष्ठापूर्वक गरिने कठोर पर्व ‘जितिया’ सुरु (तस्बिरहरू)

जनकपुरधाम । तराई मधेशमा मनाइने निष्ठा तथा कठोर व्रत ‘जितिया पर्व’ विधिवत रुपमा सुरु भएको छ । सन्तानको दिर्घायू र परिवार कल्याणका लागि तराई मधेशमा मनाइने ‘जितिया पर्व’ सुरु भएको हो ।

आइतबारदेखि विधिवत रुपमा सुरु भएको ‘जितिया पर्व’ बुधबार समापन हुनेछ । महिलाहरूले २४ देखि ३६ घण्टासम्म निराहार पानीसमेत नखाई थुक पनि ननिल्ने हुनाले ‘जितिया’लाई कठोर पर्व मानिन्छ ।

तराई मधेसको पवित्र ‘जितिया पर्व’अन्तर्गत व्रतालु महिलाहरूले सोमबार नहाए खाए (नुहाएर खानु) विधि गरेका छन् । व्रत बस्नुअघि आजको दिन उनीहरूले नदी, तलाउ वा पोखरीमा स्नान गर्ने परम्परा रहेको छ ।

स्नानपश्चात् व्रतालु महिलाहरूले घिरौँलाको पातमा भगवान् जिमूतवाहनलाई चिउरा, दही, अमोट र पिना प्रसादका रूपमा चढाउने गर्छन् । आज चढाएको तेल महिलाले सन्तानको शिरमा दलेर दिर्घायूको कामना गर्ने चलन छ ।

आज पूजापछि व्रतालुहरूले कोदोको रोटी, नुनीको साग र माछा खाने चलन छ, जसलाई स्थानीय भाषामा ‘माछ मरुवा’ भनिन्छ ।

पारनको दिन अर्थात् अन्तिम दिन सूर्योदय नहुँदै व्रतालु महिलाहरूले प्रसादको रुपमा घिरौँलाको पातमा चुरा, दही, फलफूल चढाउँछन् । बिहानपख बच्चाहरू ब्युँझेपछि घिरौँलाको पातमा चढाएको नैवेद्य स्वरुप चिउरा, दही फलफूलसहित प्रसादको रुपमा खान दिई व्रतको समापन गरिन्छ ।

सन्तानको दीर्घ जीवन, पुत्र प्राप्ति तथा पारिवारिक सुख शान्तिका लागि मनाइने ‘जितिया पर्व’को धार्मिक सांस्कृतिक तथा तान्त्रिक महत्वसमेत छ ।

तराई-मधेशमा मनाइने व्रतमध्ये ‘जितिया पर्व’लाई पवित्र व्रतको रूपमा लिइन्छ । उपवासको दिन महिलाहरूले डकार गरे, मुखको थुक निले वा जिब्रो टोकेको खण्डमा व्रत असफल भएको मानिन्छ । त्यसैले यस पर्वलाई ‘खड् जितिया’ पनि भनिन्छ । एकपटक असफल भएकी व्रती आजीवन यो व्रत बस्न नपाउने परम्परा रहेको छ ।

को हुन् जिमूतवाहन ?
राजा शालिवहानको राज्यमा एउटी महिलाका सात छोरालाई दैत्यले उठाएर लगेपछि राजाले सातै छोरालाई दैत्यको हातबाट फिर्ता ल्याइदिएकाले महिलाले त्यस दिनदेखि शालिवहानलाई ‘जिमूतवाहन’ नामकरण गरी राजाको सम्झनामा उपवास बस्न थालेकाले यो व्रत सुरु भएको पौराणिक कथन छ ।

सन्तानलाई अकाल मृत्युबाट जोगाउन र दिर्घायूका लागि माता जिमूतवाहन देवताको कठोर उपवास गर्ने गरिएको छ । भविष्य पुराणमा आराध्यदेव महादेवसमक्ष पार्वतीले यस्तो कुन व्रत वा तपस्या गर्दा सन्तानको अकालमा मृत्यु हुँदैन भनी राखेको जिज्ञासामा महादेवले जिमूतवाहनको नियम निष्ठाका साथ व्रत बस्न भनेको उल्लेख समेत गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *