वडा कार्यालयका कर्मचारी कांग्रेस अधिवेशनमा, सेवाग्राहीले गरे तालाबन्दी

धनगढी । बाजुराको त्रिवेणी नगरपालिका ४ को कार्यालयमा सेवा नपाएको भन्दै स्थानीयले तालाबन्दी गरेका छन् । कर्मचारी कांग्रेसको अधिवेशनमा गएपछि सेवा नपाएको भन्दै सेवाग्राहीले वडा कार्यालयमा तालाबन्दी गरेका हुन् ।

कार्यालयमा कार्यालय सहयोगीबाहेक अन्य कर्मचारी नभएपछि सेवा प्रभावित बनेको छ । आइतबार कार्यालय समय सुरु भएदेखि नै कर्मचारी कार्यालयमा नआएपछि सेवा कार्यालयमा तालाबन्दी गरेको आक्रोशित सेवाग्राहीले बताएका छन् ।

वडा कार्यालयका पाँच जना कर्मचारीमध्ये चार जना नेपाली कांग्रेसको नगर अधिवशनमा गएका र १ जना कार्यालय सहयोगीमात्रै कार्यालयमा रहेको उनीहरुको भनाइ छ ।

वडाध्यक्ष कालु साउँदले भने कांग्रेस सम्बद्ध भ्रातृ संगठनमा आबद्ध एक जना कर्मचारीमात्रै कांग्रेसको अधिवेशनमा आएको र एक जना प्राविधिक फिल्डमा गएको बताए । उनले तालाबन्दी नै नभएको दाबी गरे ।

‘म र एक जना कर्मचारीमात्रै अधिवेशनस्थलमा आएका छौँ,’ उनले भने , ‘प्राविधिक फिल्डमा गएका छन्, कार्यालय सहयोगी कार्यालयमै छन् ।’ उनले कार्यालयमा तीन जना मात्रै कर्मचारी भएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *