चीनमा एमबीबीएस पढेकालाई इन्टर्नसीपका लागि कि चीन‚ कि नेपालमै व्यवस्था गर्न निर्देशन

काठमाडौँ । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले चीनमा एमबीबीएस अध्ययन गरेका तर इन्टर्नसीप गर्न नपाएका विद्यार्थीलाई इन्टर्नसीप गर्ने व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ ।

आइतबार बसेको समितिको बैठकले चीनमा एमबीबीएस गरेका विद्यार्थीलाई इन्टर्नसीपका लागि कुटनीतिक पहल गरेर चीन पठाउन वा नेपालमै इन्टर्नसीप गराउन निर्देशन दिएको हो । चीनमा एमबीबीएस अध्ययन गरेका सन् २०१५ र सन् २०१६ ब्याचका विद्यार्थी कोरोना महामारीका कारण स्वदेश फर्किँदा इन्टर्नसीप गर्न पाएका छैनन् । उनीहरूले इन्टर्नसीप गर्न चीन पठाउने व्यवस्था मिलाउनुपर्ने वा नेपालमै नेपाल मेडिकल काउन्सिलले इन्टर्नसीपको व्यवस्था गर्नुपर्ने माग गर्दै प्रदर्शनसमेत गर्दै आएका छन् ।

‘कुटनीतिक पहल गर्ने यता त हामी समाधान गर्न सक्छौँ भन्नुपर्‍यो । हुन्छ भने पठाउने र हुन्न भने निकास दिनुपर्‍यो नि । हजारौँ विद्यार्थी अलपत्र परिरहेका छन् । उनीहरूको भविष्य अन्धकार भइरहेको छ‚’ समिति सभापति जयपुरी घर्तीले भनिन् ।

यसअघि पनि शिक्षा तथा स्वास्थ्य समितिले कुटनीतिक पहल गरेर इन्टर्नसीप गर्न बाँकी विद्यार्थीलाई चीन पठाउन निर्देशन दिएको थियो । तर हालसम्म विद्यार्थीको समस्या समाधान नभएपछि पुनः निर्देशन दिएको हो ।

समितिले चीन पठाउन नसके पनि विद्यार्थीको भविष्य बर्बाद पार्न नहुने भन्दै सरकारले कुनै न कुनै उपाय खोज्नुपर्ने बताएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *