सनम शाक्य हत्या प्रकरण: ३८ क्विन्टल सुन बारेको बहस आजदेखि

विराटनगर  । सनम शाक्य हत्या प्रकरणसँग जोडिएको सुनकाण्डको मुद्दामा आज जिल्ला अदालतमा पेशी तोकिएको छ । ३८ क्विन्टल सुन तस्करीको मुद्दाको सुनुवाइका लागि मोरङ जिल्ला अदालतमा सुनुवाइ शुरु हुँदै छ ।

३८ क्विन्टल सुन तस्करी प्रकरणमा ७७ जनालाई प्रतिवादी बनाइएको छ । ती मध्ये  ५५ जान पक्राउ परेका छन् भने २२ जना अझै फरारको सुचीमा रहेको प्रहरीको दाबी छ । चार वर्षअघि दर्ता भएको शाक्य हत्या तथा सुन तस्करीसँग सम्बन्धित मुद्दाको अन्तिम बहस जिल्ला अदालत मोरङका न्यायाधीश भरत लम्सालको इजलासमा हुने छ ।

अदालती कारबाहीको प्रक्रियामा नआएका फरारको हकमा मुद्दा मुल्तबीमा राखिनेछ । सुन तस्करीको विषयलाई लिएर तस्करीका मुख्य योजनाकार उर्लाबारीका गोरे भनिने चूडामणि उप्रेती सहितले उर्लाबारीका सनम शाक्यको हत्या भएको थियो । शाक्य भरियाको रूपमा प्रयोग भएका व्यक्ति भएको प्रहरीको भनाई छ ।

प्रहरीका उच्च अधिकारीलाई समेत प्रतिवादी बनाएको मुद्दामा  ६३ जनालाई प्रतिवादी बनाइएको थियो ।   मुद्दामा पछि तीन पटकसम्म पूरक अभियोग दर्ता भयो ।  अनुसन्धानका क्रममा पूरक अभियोग दर्ता गर्दा प्रतिवादी ७७ पुगेका हुन् । सुन तस्करका भरियाको काम गर्दै आएका शाक्यको हत्या भएको घटनाको अनुसन्धान थाल्दा विदेशबाट झन्डै ३८ क्विन्टल सुन तस्करी गरेर नेपाल ल्याइएको खुलेको छ । ७७ जना प्रतिवादी रहेको मुद्दामा आजदेखि बहस शुरु हुने जिल्ला अदालत मोरङका सूचना अधिकारी राजेन्द्रप्रसाद धमलाले बताए ।

वादी नेपाल सरकारका तर्फबाट मुद्दाको बहसको नेतृत्व उच्च सरकारी वकिल कार्यालय विराटनगरका सहन्यायाधीवक्ता ज्ञानप्रसाद भुसालले गर्ने छन् । जिल्ला सरकारी वकिल कार्यालय मोरङका जिल्ला महान्यायाधिवक्ता रामहरि शर्मा काफ्ले र सहायक जिल्ला महान्यायाधिवक्ता मनिषबाबु पोखरेल लगायतले सरकारका तर्फबाट बहस गर्ने बताइएको छ ।

पुर्पक्षका सिलसिलामा जिल्लाबाट उच्च हुँदै सर्वोच्च अदालतसम्म पुगेको मुद्दाको मुख्य अभियुक्त मोरङ उर्लाबारीका गोरे भनिने चूडामणि उप्रेतीलाई बनाइएको छ । उनको समूहले दुबईबाट २०७४ साल माघ ९ गते तस्करीमार्फत भित्राएको साढे ३३ किलो सुन काठमाडौँ ल्याइ पुर्‍याएपछि गायब बनाइएको थियो । अहिलेसम्म फेला नपरेको सुन कहाँ छ त्यो कुनै उल्लेख छैन ।

सुन हराएपछि गोरेको समूहले करेन्ट लगाएर यातना दिँदा २०७४ साल फागुन १८ गते मोरङको उर्लाबारी नगरपालिका-१ मा शाक्यको हत्या भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *