विश्व फर्मासिस्ट दिवस : सबैको एकै स्वर- व्यवसायलाई विकृत हुन नदिऊँ

विराटनगर । विराटनगरमा विश्व फार्मासिस्ट दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ । नेपाल फार्मास्युटिकल एसोसिएसनको आयोजना तथा विभिन्न फार्मेसीसँग सम्बन्धित संस्थाहरूको सहयोगमा कार्यक्रमको आयोजना भएको हो ।

औषधि व्यवस्था विभाग विराटनगरमा वृक्षारोपण गरी सुरु भएको कार्यक्रम श्रीकृष्ण होटलमा औपचारिक कार्यक्रमको आयोजना गरि मनाइएको हो ।

औषधि व्यवस्था विभाग विराटनगरका प्रमुख सञ्जिव शर्मा कट्टेलले हाल नेपालमा ५ हजार फार्मासिस्ट‚ १४ हजार एसिस्टेन्ट फार्मासिस्ट रहेको जानकारी दिए । उनले कोरोना माहामारीमा सबै बन्द भएको अवस्थामा फार्मेसीले निर्वाध रुपमा सेवा उपलब्ध गराएको अवस्था रहेको जानकारी दिँदै उनले कतिपय स्थानमा फार्मेसी जनशक्तिको दुरुपयोग भइरहेको बताए ।

‘मान्छे यूरोप‚ अमेरिकामा छ, नेपालमा लाइसेन्स भाडामा लगाकाले अबका दिनमा लाइसेन्स भाडामा लाउने क्रम रोकिनुपर्छ‚’ उनले भने, ‘लाइसेन्स भाडामा लगाउने प्रवृत्तिले फार्मासिस्टलाई नै कमजोर बनाउने र विकृति बढाउने हुन्छ ।’

शर्माले अस्पतालले अस्पताल परिसरमा फार्मेसी राखेको छ कि छैन ? फार्मेसी राखे पनि बिरामीले गुणस्तरीय औषधि प्राप्त भएको छ/छैन हेर्न जरुरी रहेको औँल्याए ।

‘स्वास्थ्य बीमामा पर्याप्त दक्ष जनशक्तिको अभावका कारण समस्या रहेको छ,’ उनले भने, ‘बीमाबाट औषधि वितरण हुँदा केही समस्याहरू देखिएको गुनासाहरू पनि आएका छन् ।’ उनले प्रदेशमा प्रादेशिक औषधि विभाग र प्रादेशिक प्रयोगशाला गठन हुन जरुरी रहेको समेत औँल्याए ।

प्रदेश स्वास्थ निर्देशनालय प्रमुख ज्ञानबहादुर बस्नेतले जनतालाई राम्रो स्वास्थ्य लाभ गर्न इट्टा थप्ने व्यक्ति फार्मासिस्ट रहेका कारण आफ्नो पेसाप्रति बफादार हुन जरुरी रहेको बताए । ‘बिरामी भएर अप्ठ्यारो अवस्थामा आएका नागरिकलाई सेवा दिने भनेकै फर्मासिस्टहरूबाट नै हो,’ उनले भने‚ ‘उनीहरूलाई गरिने व्यवहारले आधा रोग निको भएको महसुस हुने गरी सेवा दिन जरुरी छ ।’

त्यस्तै औषधि व्यवसायी संघ प्रदेश १ का अध्यक्ष कुमार खतिवडाले फार्मेसीप्रतिको आकर्षण बढ्दै जानु सकारात्मक भए पनि केही गलत व्यक्तिका कारण औषधि व्यवसाय क्षेत्र नै बद्नाम हुन दिने अवस्था आउन नहुने बताए । गलत व्यक्तिको प्रवेशलाई व्यवस्थित गरी व्यवसायलाई नागरिकप्रतिको विश्वास गर्ने अवस्थाबाट विमुख हुन दिनु नहुने उनले बताए ।

उनले लाईसेन्स भाडामा लगाएर व्यवसाय सञ्चालन गर्ने जो कोहिलाई औषधि व्यवस्था विभागले कारबाही गर्न सक्नुपर्ने बताए ।

‘औषधि व्यवसाय डाक्टर डोमीनेटेड रहेको छ,’ उनले भने, ‘डाक्टरले ब्रान्डमा ध्यान दिने गरेकाले समस्या हुने गरेको छ, यसलाई औषधि व्यवस्था विभागले नियमन गर्नु जरुरी छ ।’

वरिष्ठ फर्मासिस्ट गणेश तामाङले जनताको स्वास्थ्य ठिक गर्न सरकारबाट मात्र सम्भव नभई सक्षम जनशक्ति बनाउनतर्फ ध्यान दिनुपर्ने बताए । दक्ष जनशक्ति बनाउनका लागि तालिम दिनुपर्ने बताउँदै डाक्टर, फर्मासिस्ट नर्सिङ ल्याब र रेडियोग्राफी सबै मिलेर रोगविरुद्ध लड्न एक हुनुपर्ने औँल्याए ।

सहि औषधि‚ सहि सहि व्यक्तिलाई दिई नागरिकलाई सेवाबाट विमुख हुने अवस्था आउन दिनु नहुने भन्दै पब्लिक फोरमका उत्तम ढुङ्गेलले प्रमाणपत्र भाडामा राखेर अन्तै काम गर्ने क्रम रहेकाले यो रोकिनुपर्ने र यसमा फार्मासिस्टहरू चनाखो भएर अघि बढ्नुपर्नेमा जोड दिए ।

नर्सिङ संघका सचिव तथा नर्सिङ क्याम्पस विराटनगरका प्रमुख मेनुका भण्डारीले व्यवसायिक रुपमा संस्थाहरू आफ्नो हक-हितका लागि नलाग्दासम्म कुनै पनि संस्थाको संस्थागत विकास हुन नसक्ने बताइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *