सुकुना माविले २४ जनालाई ल्यापटप बाँड्यो

विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका १० मा रहेको सुकुना माध्यमिक विद्यालयले प्रविधिमैत्री अभियान शुरु गरेको छ । प्रविधियुक्त सिकाइलाई प्रभावकारी रूपमा सञ्चालन गर्न शिक्षकहरूलाई ल्यापटप वितरण गरेको छ ।

२४ थान नयाँ भर्सनका ल्यापटप २४ जना शिक्षकहरूलाई पहिलो चरणमा वितरण गरिएको हो । आर्थिक वर्षमा २०७७-०७८को नमुना विद्यालय विकास कार्यक्रम अन्तर्गतको १९ लाख ८० हजार मूल्यमा बराबरको ल्यापटप वितरण गरिएको विद्यालयले जनाएको छ ।

विद्यालयलाई डिजिटल मैत्री बनाउन शिक्षकहरूलाई प्रोत्साहन स्वरूप पहिलो चरणमा २४ थान र अब चाँडै दोस्रो चरणमा थप २४ जना शिक्षकलाई वितरण गर्ने योजना रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पदमबहादुर नेउपानेले बताए ।

सुन्दरहरैँचा नगरपालिकाका शिक्षा शाखा प्रमुख उपसचिव रामप्रसाद ढुङ्गेलले वितरण गरिएका ल्यापटपको प्रत्यक्ष फाइदा  विद्यालयका बालबालिकाको अध्ययनमा पुग्ने विश्वास व्यक्त गरे । सामुदायिक विद्यालय प्रतिको अभिभावकहरूको विश्वास अझ प्रगाढ बनाउन बालबालिकाहरूको डिजिटल अभिरुचिलाई बुझेर विद्यालयले चालेको शिक्षण सिकाइमा डिजिटल प्रविधिको प्रयोगले उल्लेखनीय योगदान पुग्ने बताए ।

विद्यालयले मापदण्ड बनाएर शिक्षकहरूसँग करार सम्झौता गरी ल्यापटप बाँडिएको छ । सुन्दरहरैँचा नगरपालिका वडा नं १० का अध्यक्ष राजेन्द्र थापा,  शिक्षक विक्रम खड्काले विद्यालयको यो कदमले शिक्षकहरूमा अझ उत्साह थपिने बताए ।

कोरोनाको कारण पठनपाठनमा अवरुद्ध हुँदा प्रभावकारी बनेको भर्चुअल माध्यमको वैकल्पिक सिकाइले सुकुना माविलाई अझ विश्वासिलो बनाएको छ । हाल यस विद्यालयमा विद्यार्थीको रोजाइमा अभिवृद्धि भएकै कारण ४ हजार २ सय विद्यार्थी अध्ययनरत रहेको विद्यालयका प्रधानाध्यापक लक्ष्मीकुमार श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *