राष्ट्रकवि माधव घिमिरेको १०३औं जन्मजयन्तीमा रचनावाचन

काठमाडाैँ । राष्ट्रकवि माधवप्रसाद घिमिरेको १०३औं जन्मजयन्तीका अवसरमा बिहीवार नेपाल प्रज्ञा-प्रतिष्ठानद्वारा ‘व्यक्तित्व चर्चा र रचनावाचन’ कार्यक्रमको आयोजना गरिएको छ ।

विक्रम संवत् १९७६ असोज ७ गते लमजुङको पुस्तुनमा जन्मिएका राष्ट्रकवि घिमिरेको १०२ वर्षको उमेरमा २०७७ भदौ २ गते निधन भएको थियो । कार्यक्रममा प्रतिष्ठानका कूलपति गंगाप्रसाद उप्रेतीले राष्ट्रकवि घिमिरे लोकको भावना बुझेर काव्य सिर्जना गर्ने साधक भएको उल्लेख गर्दै भने, ‘राष्ट्रकवि घिमिरेका लोकजीवन, राष्ट्र र राष्ट्रियतालाई आत्मसात गरी गरिएका सिर्जनाहरू कालजयी छन् ।’

उप्रेतीले घिमिरेको अन्तिम महाकाव्य ‘ऋतम्भरा’ उनका परिवारको अनुमतिप्राप्त भएमा छाप्न तयार भएको जनाए । स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैलीका काव्यशिल्पी कविवर घिमिरे प्रतिष्ठानका संस्थापक सदस्य समेत रहेका राष्ट्रकवि घिमिरे प्राज्ञ परिषद् सदस्य हुँदै उपकूलपति, कूलपति र आजीवन सदस्यका रूपमा रहेका थिए ।

उपकूलपति डा. जगमान गुरुङले राष्ट्रकविलाई आफूले सदैव राष्ट्र र राष्ट्रियताप्रति जिम्मेवार स्रष्टाका रूपमा पाएको उल्लेख गरे । सदस्यसचिव प्रा. जगतप्रसाद उपाध्यायले राष्ट्रकविको व्यक्तित्व तथा कृतित्वमाथि प्रकाश पार्दै नेपाली राष्ट्रिय भावनालाई मजबुत बनाउनमा राष्ट्रकवि घिमिरेका सिर्जनाले महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गरे ।

प्रतिष्ठानका साहित्य (पद्य/काव्य) विभाग प्रमुख प्रा.डा. हेमनाथ पौडेलले राष्ट्रकविको पहिलो स्मृतिसभा भएको उल्लेख गर्दै अब बर्सेनि उनको जन्मतिथिका अवसरमा यस्तो कार्यक्रम आयोजना गरिने बताए ।

प्राज्ञसभा सदस्य तथा नेपाली शिक्षा परिषद्का अध्यक्ष रमा शर्माले नेपाल प्रज्ञा-प्रतिष्ठानसमक्ष राष्ट्रकवि घिमिरेले आफ्नो जीवनकालमा प्राप्त गरेका मान-सम्मान र पुरस्कारसँग सम्बन्धित सामग्रीको संरक्षण गरिदिन आग्रह गरिन् । उनले राष्ट्रकवि घिमिरेको निवासतर्फ जाने मार्गको नाम ‘राष्ट्रकवि माधवप्रसाद घिमिरे’ नामकरणका लागि सरकारसमक्ष प्रस्ताव राखिदिन अनुरोध गरिन् ।

राष्ट्रकवि घिमिरेका कान्छा छोरा इन्जिनीयर राजीव घिमिरेले बुवासँगका केही प्रमुख स्मृति सुनाउँदै अब छिट्टै नै ‘ऋतम्भरा’लाई प्रकाशनमा ल्याइने जनाए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *