प्रदेश २ : को बन्ला लोसपा संसदीय दलको नेता ?

जितेन्द्र सोनल र सुरिता साहको दाबी

जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) प्रदेश २ मा संसदीय दलको नेता चयन गर्ने भएको छ । दलको नेता चयन गर्न लोसपा प्रदेश २ संसदीय दलको बैठक बस्ने भएको छ ।

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीबाट छुट्टिएर महन्थ ठाकुरको नेतृत्वमा बनेको लोसपा प्रदेश २ मा दलको नेता चयन गर्न संसदीय दलको बैठक बस्न लागेको हो । प्रदेश २ मा दलको नेता चयन गर्न लोसपाले आइतबार जनकपुरमा संसदीय दलको बैठक बोलाएको छ । संसदीय दलको कार्यालयमा आइतबार २ बजे बैठक बस्ने भएको हो ।

संसदीय दलको नेता चयन हुने भएपछि लोसपाका वरिष्ठ नेता राजेन्द्र महतो बिहिवार जनकपुर आएका छन् भने लोसपा अध्यक्ष महन्थ ठाकुर आज जनकपुर आउने भएका छन् । दुबै जना आ-आफ्ना पक्षका नेतालाई संसदीय दलको नेता बनाउने दाउसहित रणनीतिमा जुटेका छन् । पार्टी अध्यक्ष ठाकुर र वरिष्ठ नेता महतोको उपस्थितिमै बैठक बसी दलको नेता चयन गर्ने तयारी रहेको स्रोतले जनाएको छ ।

जितेन्द्र र सुरिताको दाबी
लोसपा प्रदेश २ संसदीय दलको नेता बन्ने कसरतमा जितेन्द्र सोनल र सुरिता साह लागेका छन् । दुबैजनाले आ-आफ्नो शक्ति लगाइरहेका छन् । साह संघीय सरकारका पुर्वमन्त्री रहिसकेकी छिन् भने सोनल प्रदेश सरकारका पूर्व मन्त्री हुन् ।

दुबै जना प्रतिस्पर्धामा देखिए पनि संसदीय दलको नेतामा प्रदेश सांसद सुरिता साहको प्रबल सम्भावना देखिएको छ । लोसपाका एक सांसदका अनुसार प्रदेश २ मा कुनै दलले महिला सांसदलाई संसदीय दलको नेता नबनाएकोले यो पटक लोसपाले महिला नेतृलाई दलको नेता बनाई सन्देश दिन खोजेको छ ।

यसअघि सङ्घीय सरकारमा सञ्चार राज्यमन्त्री रहिसकेकी लोसपा कार्यकारिणी समिति सदस्य साह संसदीय दलको नेतामा चयन हुने लगभग तय रहेको लोसपा स्रोतले जनाएको छ । ‘प्रदेशमा सबैभन्दा बढी मतान्तरले निर्वाचित सांसद हुनुहुन्छ, कार्यकारिणी समिति सदस्यसमेत हुनुहुन्छ,’ लोसपा स्रोतले भन्यो, ‘प्रदेश सांसदमा निर्वाचित भएपछि वहाँले कुनै लाभको पद पनि पाउनुभएको छैन, संसदीय दलको नेतामा उहाँकै नाममा सर्वसम्मति हुने प्रबल सम्भावना छ ।’

संसदीय दलका नेताका लागि अन्य सांसदहरू पनि आकाङ्क्षी देखिए पनि सर्वसम्मतिबाटै साह दलको नेता चयन हुने लोसपा स्रोतको दाबी छ । सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएपछि यादव नेतृत्वको जसपाबाट छुट्टिएर ठाकुरको नेतृत्वमा लोसपा बनेको छ । निर्वाचन आयोगले नयाँ दल रोज्न भदौ २२ सम्म समय दिएपछि जसपाका ५५ मध्ये १६ प्रदेश सांसदले लोसपा रोजेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *